सुदूरपश्चिम प्रदेश : सङ्क्रमितमध्ये ५२ प्रतिशत निकाे, एकैदिन ४५० जना डिस्चार्ज

 साउन ६, २०७७ मंगलबार १५:३९:५९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म झण्डै ५२ (५१ दशमलव ९९) प्रतिशत निको भएर घर फर्किएका छन् । अहिलेसम्म सुदूरपश्चिममा चार हजार ९५ जनामा कोरोना देखिएकोमा दुई हजार एक सय २९ जना सङ्क्रमणमुक्त भएका हुन् ।  

नौ जिल्लाका विभिन्न अस्पताल र पालिकामा बनाइएका आइसोलेशनबाट दुई हजार एक सय २९ कोरोना सङ्क्रमित डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो  । 

उहाँका अनुसार सोमबार डोटी जिल्लाबाट तीन सय ७८ र अछाम जिल्लाका ७२ जना गरी चार सय ५० जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डोटीका पाँच सय ३५, अछामका चार सय ३६, कञ्चनपुरका तीन सय ९९, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनालाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै कैलालीका एक सय ३८, बझाङका ८७, दार्चुलाका १३ र बाजुराका दुई जना सङ्क्रमितलाई डिस्चार्ज गरिएको छ ।  सुदूरपश्चिम प्रदेशका ५५ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक हजार नौ सय बढीकाे पालिकाको आइसोलेशनमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी अस्पतालमा दुई र सेती अस्पतालमा एक जना गरी ५५ जनाको उपचार भइरहेको छ । 

सुदूरपश्चिममा अहिलेसम्म आठ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया