विदेशबाट फर्कनेहरु अब होम क्वरेण्टीनमा बस्न पाउने, यस्तो छ मापदण्ड

 साउन ७, २०७७ बुधबार ७:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशबाट फर्कनेहरु अब स्वास्थ्य मापदण्ड पालना गर्दै होम क्वरेण्टीनमा बस्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम क्वरेण्टीनसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट घर फर्किएकाहरु होम क्वरेण्टीनमा पनि बस्न पाउने भएका हुन् । कोरोना प्रभावित देशहरुबाट स्वदेश फर्कनेहरुले तोकिएको मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्न चाहेमा पालिकाको सहमति र प्रत्यक्ष निगरानी रहने गरी १४ दिन बस्ने गरी पठाउन सकिने मापदण्ड तयार गरिएको मन्त्रालयका स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

होम क्वरेण्टीनमा बस्दा कस्ता कुरामा ध्यान दिने ?

कोरोना महामारीका बेला विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती अहिले विभिन्न चार्टर्ड उडानमार्फत भइरहेको छ । यसरी फर्कनेहरु कि त सम्बन्धित पालिकाको क्वरेण्टीनमा कि त होटल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्ने नियम थियो । तर अब होम क्वरेण्टीन सम्बन्धी मापदण्ड पारित भएसँगै विदेशबाट घर फर्कनेहरु आफ्नै घरको एक कोठामा १४ दिनसम्म बस्न सक्नेछन् । मापदण्डअनुसार कोठा भने हावा खेल्ने र घाम लाग्ने खालको हुनुपर्छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै हुने भएकाले चर्पी र नुहाउने ठाउँ छुट्टै भएमा उपयुक्त हुन्छ । तर यदि छैन भने पनि विदेशबाट फर्कने व्यक्तिले प्रयोग गरेको चर्पी सङ्क्रमण हटाउनेगरी सफा गरेपछि मात्र परिवारका अरु सदस्यले प्रयोग गर्नु पर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थामा नियमित जानकारी गराउनपर्ने कुरा मापदण्डमा उल्लेख छ । कोरोनाको जोखिमबाट बच्च भेटभाट वा बोलचालमा दूरी कायम राख्नु पर्छ । सकेसम्म विदेशबाट फर्किएर होम क्वरेण्टीनमा बसेका मानिस बाहिर ननिस्कने, नडुल्ने, मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

विदेशबाट फर्कने व्यक्ति होम क्वरेण्टीनमा बसिरहँदा घरका हरु सदस्यले पनि विशेष सतर्कता अपनाउनु पर्छ । जता पनि जाने, जे पनि छुने, सरसफाइमा ध्यान नदिने गर्नु हुँदैन । विदेशबाट फर्कनेले प्रयोग गरेका, छोएका सरसामान पुनः प्रयोगमा ल्याँउदा राम्रोसँग डिसइन्फेक्ट गर्नपर्छ ​।

मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्यूनतम भौतिक पूर्वाधार, सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरुले पालना गर्नुपर्ने व्यवहार तथा कामका बारेमा उल्लेख गरिएको छ । मापदण्ड स्वीकृतिसँगै सम्बन्धित व्यक्तिलाई क्वरेण्टीनमा बस्दा सहज हुने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ ।

आफ्नो ठाँउबाट जिम्मेवार ढङ्गले सबैबाट यो मापदण्ड पालना भएन भने जोखिममा भएका आफ्नै घरका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका परिवारका सदस्यहरु र छरछिमेकलाई समेत जोखिममा पार्ने सम्भावना रहने प्रवक्ता गौतमको भनाइ छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया