‘बाढी पहिरो हेर्न जाँदा ज्यानै जाला, ख्याल गर्नुहोस् !’

 साउन ७, २०७७ बुधबार ९:७:१३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - गएको असार ३० गते स्याङ्जा कालीगण्डकी गाउँपालिका-४ खहरे लाँकुरी थोकमा पहिरो हेर्न जाँदा अर्को पहिरो खसेर एक जनाको ज्यान गयो ।सँगै पहिरो हेर्न गएका अरु केही घाइते पनि भए ।

साउन ६ गते सर्लाहीमा वाग्मती नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भयो । नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उहाँहरुको प्रहरीले उद्धार गरेको हो । 

लगातारको वर्षाले देशभर बाढी तथा पहिरोको जोखिम बढ्दै गएको छ । कतिपयको जोखिम थाहा नपाएर वा सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको छ । कतिपय भने रमाइलोका लागि बाढी पहिरो हेर्न जाने, सेल्फी खिच्नेलगायतका कारणले गर्दा जोखिममा पर्ने गरेका छन् । 

सामाजिक सञ्जालमा बाढी पहिरो हेर्न जानेको भिड लागेका तस्बिर सार्वजनिक भैरहेका छन् । सरकारले जोखिमयुक्त ठाउँमा नजान आग्रह गरे पनि कतिपय मानिस के रहेछ भन्दै पुलको माथि र बाढी पहिरो गएको स्थानमा जाने गर्छन् । अहिले नारायणी नदी हेर्न पुलमाथि घुइँचो लागेको फोटो सामाजिक सञ्जालमा आइरहेको छ ।

जोखिमयुक्त ठाउँहरुमा मानिसको भिडभाड भएका तस्बिरहरुले आफूहरुको ध्यान केन्द्रीत गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मौसम प्रतिकूल रहेको अवस्थामा बाढी पहिरो गएका ठाउँ र पुलको माथि जाँदा आफैंलाई हानी हुने हुँदा त्यस्तो नगर्न उहाँको आग्रह छ ।

 मौसमविद् श्रेष्ठका अनुसार नदी तथा खोलाको माथिल्लो क्षेत्रमा पानी परेको बेलामा र तटीय क्षेत्रमा पानी नपरेको अवस्थामा एक्कासी बाढी आएर बगाउने जोखिम हुन्छ । त्यस्तै कतिपय ठाउँमा भरुवा माटो हुने र थाहा नहुने हुँदा भास्सिने जोखिम हुन्छ ।

 कतिपय मानिसहरु काठ संकलन गर्न र सेल्फी खिच्न खोला/नदीमा जाँदा बगाएर ल्याएको काठ वा धारिलो धातुले चोटपटक लाग्ने जोखिम हुने हुँदा यस्ता कार्यहरु नगर्नसमेत मौसमविद् श्रेष्ठले आग्रह गर्नुभएको छ । जोखिम भएका ठाउँका मानिसहरुलाई  अति आवश्यक प्राथमिक उपचार, नियमित सेवन गर्नुपर्ने औषधि र खानेपानीको जोहो गरेर राख्नुपर्ने उहाँको सुझाव छ ।  

पहिरोविद् डा.सुबोध ढकाल सुरक्षाकर्मी र तालिमप्राप्त उद्दारकर्ताहरुबाहेक अरु त्यस्तो जोखिमयुक्त ठाउँमा जान नहुने बताउनुहुन्छ । तालिमप्राप्त व्यक्तिहरुलाई जोखिमबारे ज्ञान हुँदा अप्ठ्यारो अवस्था आईहाले पनि बाहिर निस्कन सक्छन् । तर सामान्य मानिसको ज्यानसमेत जाने हुन्छ । भिरको मुनि र ढुंगा माटो खस्ने ठाउँमा सकेसम्म नहिँड्न पहिरोविद् ढकालको सुझाव छ । 

उहाँ भन्नुहुन्छ, ‘यदि पहिरो खस्न सुरु भए, खस्ने जोखिम देखिए अशक्त, वृद्ध र बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिएर सुरक्षित ठाउँमा लैजानुपर्छ र आफू पनि सुरक्षित ठाउँमा जानुपर्छ ।’ उहाँ थप्नुहुन्छ, ‘यस्तो अवस्थामा मोबाइल वा अन्य वस्तु छुट्यो, केही हुँदैन भनेर फर्केर जोखिम ठाउँमा जाँदा पनि खतरा हुन्छ, त्यस्तो गर्नु हुँदैन ।’   

अन्तिम अपडेट: चैत २१, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया