मलेसिया गएका श्रीमान् दश वर्षसम्म नफर्केपछि परिवार चलाउन हरिमाया कुवेतमा

 साउन ७, २०७७ बुधबार १८:४१:५८
unn.prixa.net

विजय माेक्तान

पार्वती विक

काठमाण्डौ – बुवा परदेश जाँदा आमाको गर्भमा रहेको छोरा अहिले १० वर्षको भइसक्यो । आफ्नी आमासँग ‘बुवा खै ? आमा’ भनेर सोध्छ । तर हरिमाया मोक्तानसँग यसको जवाफ हुँदैन ।

सुन्दर भविष्यको कामना गर्दै हरिमायाका श्रीमान मकवानपुरका विजय मोक्तान पनि २०६६ सालमा मलेसिया जानुभएको थियो । हातमा पासपोर्ट र पिठ्युँमा झोला बोकेर घरबाट मलेसियाको लागि हिँड्दा लालबहादुर मोक्तान र सुनमाया मोक्तानलाई छोरो यसरी बेपत्ता होला भन्ने लागेकै थिएन ।

स्वदेशमा रोजगारीको अभाव, काम नगरी खान नपाइने परिवारको अवस्था र बढ्दै गरेको उमेरको जिम्मेवारीले विजयलाई परदेशको बाटो डोर्‍याएको हो ।

अहिले आँखै अगाडि हुर्किंदै गरेको आफ्नो दश वर्षे नातिलाई हेरेर लालबहादुर र सुनमाया आफ्नो छोराको झझल्को मेट्छन् । तर छोरा सामने भए जस्तो त कहाँ हुन्छ र ? उहाँहरुका आँखा अझै पनि छोराको प्रतिक्षामा टोलाइरहन्छन् ।

विजय परदेश जाँदा एउटा छोरी जन्मिसकेकी थिइन् । हरिमाया गर्भवती थिइन् । वृद्ध बुवाआमा, गर्भवती श्रीमती र काखे छोरीलाई छाडेर परदेशको लागि हिँड्दा विजयका मात्रै होइन, पुरै परिवारको आँखा रसाएका थिए । तर पनि घरको आर्थिक अवस्था र काँधको जिम्मेवारीले विजयका पाइलालाई रोकेन ।

‘नाति गर्भमा हुँदा नै छोरो मलेसिया गएको थियो, नाति दश वर्षको भइसक्यो छोराको केही अत्तोपत्तो छैन’, निराश बुवाका आँखाबाट आँशुका धारा वर्षन्छन् ।

‘तीन वर्षमा फर्किन्छु भनेर जानुभएको थियो, दश वर्ष भइसक्यो, आजसम्म आउनुभएन’, विजयकी श्रीमतीको रोदन पनि उस्तै छ ।

‘मेरो श्रीमान जहाँ हुनुहुन्छ सुरक्षित भएको सुन्न पाइयोस’, विजयकी श्रीमती भगवानसँग कामना गर्नुहुन्छ, ‘जसरी भए पनि मेरो लोग्ने हाँस्दै खेल्दै टुप्लुक्क आँगनमा आइपुगेकोे देख्न पाइयोस् ।’

कसरी बेपत्ता भए ?

विजय सन् २०१० को अक्टोबरमा ब्लुमुन ओभरसिज नेपाल प्रालि म्यानपावरबाट मलेसियाको इलाइट प्रिजन कम्पोनेन्ट एसडीएन बीएचडी कम्पनीमा सामान्य कामदारको रुपमा जानुभएको थियो । 

विजय गएको यो कम्पनी कवासन इन्डस्ट्रिकोटा केमुनिङ भन्ने ठाउँमा हो । त्यहाँ पुगेको दुई वर्षसम्म परिवारसँग राम्रै सम्पर्क हुन्थ्यो । बेलाबेला पैसा पनि पठाइदिनुहुन्थ्यो । दुई वर्षपछि घरमा फोन गर्दा कम्पनीमा काम गर्न अप्ठ्यारो भयो भन्ने किसिमको कुरा गर्नुभएको थियो । उहाँको परिवारले जनाएअनुसार काम गर्न अप्ठ्यारो भएकाले कम्पनीबाट भागेर अन्तै काम गर्छु भनेर घरमा फोन गर्नुभएको थियो विजयले । 

‘त्यसपछि पाँच वर्षसम्म फोन नै गर्नुभएन’, हरिमायाले भन्नुभयो, ‘एक्कासी पाँच वर्षपछि फोन गर्नुभयो र आफूलाई केही नभएको तर अन्तै काम गर्न लागेको र कमाइ राम्रो नभएकोले अहिलेसम्म फोन नगरेको भन्नुभएको थियो ।’

उहाँले आफू सेक्युरिटी गार्डमा काम गर्न लागेको पनि बताउनुभएको थियो । त्यसपछि फरक फरक नम्बरबाट फोन गर्न थाल्नुभयो । किन फरक नम्बरबाट फोन गर्नुहुन्छ भनेर आफूले सोध्दा रिचार्ज गर्नुभन्दा सिम किन्न सस्तो हुन्छ भन्ने गरेको हरिमाया बताउनुहुन्छ ।

लामो समयसम्म विजयले फोन नगरेपछि हरिमायालाई परिवार चलाउन धौ धौ भइसकेको थियो । त्यसैले उहाँले आफ्नो श्रीमानसँग म पनि विदेश जान्छु भन्नुभयो । तर विजयले पैसा पठाइदिन्छु कतै पनि जानुपर्दैन भनेर सम्झाएपछि केही समय त हरिमायाको मन हलुको पनि भयो । 

लामो समयसम्म लोग्ने हराए पनि अब त कुरा हुन थालिसक्यो, अब त पैसा पठाउलान् भन्ने आशा पलायो हरिमायाको मनमा । तर त्यो आशा केही महिनामै निराशामा परिणत भयो । केही महिना फोनमा सम्पर्क भएपछि फेरि विजयसँग सम्पर्क नै हुन छाड्यो ।

यसरी लामो समयसम्म श्रीमान सम्पर्कमा नआउने र पैसा पनि नपठाउँदा घरपरिवार चलाउन हरिमायालाई समस्या हुन थाल्यो । उहाँको काँधमा परिवारको जिम्मेवारी थपियो ।  हुर्किंदै गएका दुई सन्तान र बुढा हुँदै गएका सासु ससुराको जिम्मेवारीले उहाँलाई पनि केही कमाउनुपर्छ भन्ने लागेर २२ महिना पहिले उहाँ आफै कुवेत जानुभयो ।

अहिले हरिमाया कुवेतमा काम गरिरहनुभएको छ । त्यही कमाएको पैसा घर पठाउनुहुन्छ र जसोतसो परिवार चलाइरहनुभएको छ । 

विजयले आफ्नै होटेल खोलेर बसेको भन्ने सुन्नमा आएको हरिमाया बताउनुहुन्छ । 

‘उहाँ मलेसियामै होटेल चलाएर बस्नुभएको र राम्रो कमाइ गरिरहेको भनेर एकजना उहाँकै साथीले भन्नुभएको थियो, अहिले उहाँको साथीसँग पनि सम्पर्क हुँदैन’, हरिमायाले भन्नुभयो ।

समयले जे जस्तो गराए पनि आफ्नो श्रीमानले त्यसरी माया नै मारेर अन्तै बस्न लागेको भन्दा हरिमायाको मनले मान्दै मान्दैन । आफ्नो लागि नआए पनि आफ्ना दुई मुटुका टुक्रा छोराछोरीको लागि भए नि घर आउनुहुन्छ भन्ने आशामा परदेशबाटै दिन गन्दै बस्नुहुन्छ ।

कहिलेकाहीँ घरमा फोन गर्दा छोराछोरीसँग सोध्नुहुन्छ, ‘तेरो बुवाको केही कुरा सुनियो र ?’

तर केही नसुनिएको प्रतिक्रिया सुन्दा मन गह्रुँगो हुन्छ । तर पनि उहाँ आफ्नो श्रीमान् घर फर्किन्छन् र पहिलेको जस्तो खुसी साथ परिवार चल्नेछ भन्ने आशामा बस्नुभएको छ ।

यदि विजयकाे बारेमा कसैलाई जानकारी भए फाेन नम्बर ९८०७२३४७४३ मा सम्पर्क गर्न विजयका बुवा आग्रह गर्नुहुन्छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया