‘लकडाउन सकिए पनि कोरोनाको जोखिम सकिएको छैन, सावधानी अपनाऔँ’

 साउन ८, २०७७ बिहिबार ८:५१:१४ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह छन् । गएको चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिदेखि सकिएको हो । 

तर लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्ने क्रम जारी नै रहेकाले जोखिम कम नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो । ‘लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त छौँ भन्ने होइन’ उहाँले भन्नुभयो, ‘यसलाई हल्का रुपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ ।’

विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ । आउँदो दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्नेमा विज्ञको जोड छ ।

‘कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै सरकारले लकडाउन सकिएको घोषणा गरेको हो’ डा. पाण्डेले भन्नुभयो,‘तर असावधानी र अनावश्यक भिडभाड गर्नु हुँदैन ।’

कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझेका छन् । उनीहरुले सामाजिक सञ्जालमा घुमफिर र भोजभतेरका योजना सार्वजनिक गरिसकेका छन् । तर यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत रहन डाक्टर पाण्डेको आग्रह छ ।

‘लकडाउन खुलेसँगै सार्वजनिक ठाउँहरुमा भिडभाड बढ्न सक्छ, सार्वजनिक गाडी चलेसँगै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा पुग्ने हुँदा सम्पर्क पनि बढ्छ । जसले गर्दा सामाजिक दूरी कायम नहुने अवस्था रहन्छ’ डाक्टर पाण्डेले भन्नुभयो,‘आफू कसरी सुरक्षित रहने र आफ्नो परिवार तथा आफन्तलाई कसरी सुरक्षित राख्ने भन्ने व्यक्ति स्वयंमै निर्भर रहन्छ ।’ 

कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाईमा ध्यान दिने, मास्क लगाउने, साबुनपानीले हात धुने, नियमित व्यायाम र उचित आहारबिहार गर्ने बानी बसाल्न डाक्टरको सुझाव छ ।

व्यक्तिगत सावधानी

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । मुख्य गरी घरबाहिर निस्कंदा मास्क लगाउन, दूरी कायम गर्न र सरसफाईमा ध्यान दिन डाक्टर पाण्डेको सुझाव छ । घर बाहिर हिँड्दा सकेसम्म सर्जिकल मास्क, त्यो नभए कपडाको मास्क भए पनि लगाउन, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ताको प्रयोग गर्न तथा खोक्दा वा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने मास्क लगाउन तथा अनुहारमा हात नलैजान, साबुनपानीले बेलाबेला हात धुन तथा स्यानिटाइज गर्न पनि उहाँको सल्लाह छ ।

काम गर्ने ठाउँमा पनि सावधानी

काम गर्ने ठाउँ या कार्यालय छिर्नुभन्दा अगाडि साबुनपानीले हात धुने अथवा स्यानिटाइजर प्रयोग गर्नुपर्छ । हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्छ । भौतिक दूरी कायम गर्नुपर्छ । पहिले १ मिटरको दूरी कायम गरिन्थ्यो भने अब २ मिटरको दूरी कायम गर्नु राम्रो हुन्छ । 

यस्तै बढी भिडभाड हुने कार्यालयहरु मालपोत, यातायात, बैंकलगायतका क्षेत्रमा सेवाग्राहीलाई पनि दूरी कायम गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ । होटल तथा रेष्टुरेण्टमा जाँदा पनि धेरै जना नजाने, सकेसम्म एक्लाएक्लै गएर किनेर ल्याएर घरमै बसेर खानेलगायतका काम गर्नुपर्छ । तरकारी तथा अरु किनमेल गर्ने ठाउँमा पनि भिडभाड नगर्न डाक्टर पाण्डेले सुझाव दिनुभएको छ । 

सार्वजनिक यातायात चढ्दा ध्यान दिनुपर्ने कुराहरु

सम्भव भएसम्म सार्वजनिक यातायात नचढ्ने, चढ्नै परेमा  मास्क, चस्मा, पञ्जा लगाएर तथा व्यक्तिगत दूरी कायम गरेर मात्र बस चढ्ने र ओर्लने गर्नुपर्छ । 

सार्वजनिक गाडीलाई नियमित सङ्क्रमणरहित बनाउने र त्यसमा कोरोना भाइरस सङक्रमण नियन्त्रणका लागि पहल भएको छ या छैन भनेर पनि अनुगमन गर्नुपर्ने हुन्छ । बाहिर मात्रै होइन बसभित्र बस्दा पनि सुरक्षा सावधानी अपनाउनुपर्छ । 

मानसिक तयारी

लकडाउन अन्त्य भएसँगै चहलपहल बढ्दो क्रममा छ । तर मानसिक रुपमा अझै पनि लकडाउन नै छ भन्ने सोच्नुपर्ने डाक्टर पाण्डे बताउनुहुन्छ । छिमेकी देश भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । 

भारतसँगको नेपालको सीमा जति नै सुरक्षित छ भनिए पनि मानिसहरु आउने जाने क्रम पूर्णरुपमा रोकिन सकेको छैन । जबसम्म भारतमा जोखिम रहिरहन्छ तबसम्म नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण नरोकिने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ । त्यस्तै लकडाउन खुल्दैमा कोरोनाको जोखिम सकिएको भ्रममा नपर्न विज्ञले आग्रह गरेका छन् । एक पटक पीसीआर रिपोर्ट नेगेटिभ आउदैमा अब म कोरोनामुक्त छु भन्न र बुझ्न नहुने भन्दै मानसिक रुपमै सचेत हुन विज्ञको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया