पहिरोले उजाडियो लमजुङको पल्लोटारी !

 साउन ८, २०७७ बिहिबार २१:४:४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी गाउँपालिका ३ काे पल्लोटारीमा खसेको पहिरोमा थप दुई घर पुरिएको छ । बुधबार राति खसेको पहिरोमा स्थानीय शम्शेरबहादुर मजाकोटी र कुलबहादुर मजाकोटी (सुनिल) को घर पुरिएको हो ।

बुधबार बिहान १० बजेतिर पहिरो खस्दा पल्लोटारीकै १९ घर पहिरोमा पुरिएका थिए । पल्लोटारीमा खसेको पहिरोमा अहिलेसम्म २१ घर पुरिएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।

‘२१ घर पहिरोले पुरिएको छ । ३१ घर पहिरोको उच्च जोखिममा रहेका छन्’, उहाँले भन्नुभयो, ‘जोखिममा रहेका घरका सदस्यलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।’

जनप्रतिनिधि, स्थानीय, स्थानीय क्लब, आमा समूहको सक्रियतामा अहिले पहिरोका उच्च जोखिममा रहेका घरबाट अन्नपात, लत्ताकपडालगायत घरायसी सामान निकाल्ने कार्य भइरहेको गाउँपालिकाका उपाध्यक्ष उहाँले बताउनुभयो ।

पहिरोकाे जोखिममा रहेका ८० घरधुरीका तीन सय २० जनालाई नरदेवी सामुदायिक भवन तरापु, धनेश्वर प्रावि, धनेश्वर सामुदायिक भवनका साथै तरापुरका छिमेकीका घरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । 

सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा गाउँपालिकाले सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाहरुलाई लत्ताकपडा र खानपिनको व्यवस्था गरेको छ ।

पहिराे जानुभन्दा अघिकाे पृष्ठभूमि

पल्लोटारीमा अहिले पनि लेदोसहितको पहिरो खसिरहेकाले जोखिम कायमै छ । ‘अहिले पनि गाउँमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ । पहिरोमा धेरै घर पुरिए । बाँकी घर पनि पुरिन सक्ने देखिन्छ’, उपाध्यक्ष होमबहादुर विकले भन्नुभयो, ‘पहिरोले पल्लोटारी उजाड बनाएको छ ।’

पल्लोटारी पहिरोमा परेर घाइते भएका आठ जनामध्ये सात जना उपचारपछि फिर्ता भएको र एक जना घाइतेको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया