वीरगञ्जमा भाेलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

 साउन ९, २०७७ शुक्रबार १५:४५:२५ | केसी लामिछाने
unn.prixa.net

पर्सा – जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेकाे सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । 

यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सबै एक भएको बैठकमा सहभागी नेकपा पर्साका अध्यक्ष प्रभू हजारले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएकाे आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न आवत जावत र परीक्षणकाे दायरा बढाउँदै लैजाने निर्णय भएकाे छ । स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ ।

वीरगञ्जमा शुक्रबार र बिहीबार गरी काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । ७५ जना सङ्क्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया