आबुधाबीमा ३ महिला सहित १२ पुरुषको उद्धार, ४२ सय जनालाई खाद्यान्न वितरण

 साउन ९, २०७७ शुक्रबार १६:२५:२ | उमाकान्त पाण्डे

यूएई – आबुधाबीमा अलपत्र परेका ३ महिलासहित १२ जना पुरुषको उद्धार गरिएको छ । एजेण्टले यूएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई आबुधाबी राहत वितरण तथा उद्धार समूहले उद्धार गरेको हो ।

बाग्लुङका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चन, धनुषाका राजकिशोर पासमाङको उद्धार गरी नेपाल फर्काइएको उद्धार समूहले जनाएको छ । समूहका अनुसार कोरोनाको कारण यूएईमै अलपत्र परेका बर्दियाका २ जना र स्याङ्जाका एक जना पुरुषको उद्धार गरेर नेपाल फर्काइएको छ ।

घर फर्किन विमानस्थल पुगेका स्याङ्जाका रमन सुवेदी (नाम परिवर्तन)लाई भने कोरोना पोजेटिभ देखिएपछि समस्यामा पर्नुभएको थियो । उहाँलाई पनि समूहले उद्धार गरेर अलग्गै बास तथा स्वास्थ्य उपचारपछि पीसीआर परीक्षण गरेर कोरोना नेगेटिभ भएपछि नेपाल फर्काएको छ ।

अहिले अर्घाखाँचीका ३ जना र चितवनका एक पुरुष, एक जना गर्भवतीसहित ३ जना महिलालाई खान, बस्नको व्यवस्था गर्दै आएको समूहका कृष्ण गौतमले जानकारी दिनुभयो ।

समूहले महिलाहरुलाई कागजी प्रकृया पूरा गरेर नेपाल फर्काउन दूतावासले कानुनी प्रकृयामा सहयोग गरिरहेको र नेपाल फर्काउन हवाइ टिकटकोसमेत व्यवस्था गरेको छ । विभिन्न देशको बाटो प्रयोग गरेर अवैधानिक रुपमा अरु देश पुर्‍याउन यूएईलाई ट्रान्जिट पारेर एजेण्टले महिलाहरुलाई अलपत्र पारेका थिए ।

उद्धार गरिएकीमध्ये एक महिला ७ महिनाकी गर्भवतीसमेत हुनुहुन्छ । ८ महिने पहिले परिवारकै सहयोगमा कुवेत जान भन्दै श्रीलंकाको बाटो हुँदै यूएई आउनु भएकी उहाँ नेपालबाट नउड्दै गर्भवती हुनुहुन्थ्यो । उद्धार गरिएका दुई महिलालाई एक ठाउँमा र अर्का एक जनालाई अलग ठाउँमा राखिएको समूहले जनाएको छ ।

नेपाल फर्काइदिन गुहार माग्दै आबुधाबीमा रहेको दूतावासमा आउने अधिकांशलाई दूतावासकै अनुरोधमा खान बस्न र नेपाल फर्काउनसमेत सहयोग गर्दै आएको राहत टिमले जनाएको छ ।

४ हजार २ सय जनालाई खाद्य सामाग्री

यूएईको आबुधाबी क्षेत्रमा समस्यामा परेका झण्डै ४ हजार २ सय जना नेपालीलाई राहत वितरण गरिएको छ ।

आबुधावीमा सकृय युवाहरुको राहत वितरण टोलीले कोरोनाका कारण समस्यामा परेर खाना अभाव भएका नेपालीलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

कोरोनाका कारण समस्यामा परेका नेपालीलाई गएको वैशाख २ गतेदेखि आबुधावी क्षेत्रमा खाद्य सामाग्री वितरण गर्दै आएको यो समूहले १ सय २ दिनमा २ हजार १ सय किलो चामल, ८ हजार किलो दाल, ४२ सय लिटर तेल, १० हजार किलो आलु , ८ हजार किलो प्याज, ४ हजार किलो नुन, १ हजार किलो सोयाबिन तथा १ हजार किलो मसलाजन्य सामग्री राहत वितरण गरेको छ ।

समस्यामा परेका नेपालीहरुले दूतावासमा सम्पर्क गर्ने र दूतावासलेसमेत सिफारिस गरेका निवेदन तथा समस्या पहिचान गरेर टोलीले राहत वितरण गरिरहेको छ । टोलीले राहत वितरणसँगै कतिपयलाई अस्पतालसँगको सहयोगमा औषधी उपचारमा पनि सहजीकरण गरिरहेको छ ।

टोलीले विभिन्न तबरबाट सहयोग रकम जुटाई महामारीका बेलामा समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेको छ । अहिलेसम्म झण्डै १५ हजार ५ सय दिर्हाम सहयोग रकम संकलन भएको र त्यसबाटै राहत तथा उद्धारको काम गरिरहेको समूहले जनाएको छ । यो समूहलाई नेपाली समाजको नेतृत्वमा बनेका ६० भन्दा धेरै संघसँस्थाहरु सम्मिलित मूल समितिबाट प्राप्त आर्थिक तथा खाद्य सामाग्री टोलीले वितरण गरिएको हो । ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया