दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक जनाकाे ज्यान गयाे

 साउन ९, २०७७ शुक्रबार २०:३२:१९ | अमर सुनार
unn.prixa.net

दैलेख – दुम्सी खोज्न दुलोमा पसेको बेला ढुङ्गाले च्यापिएर दैलेखमा एक जना व्यक्तिकाे ज्यान गएको छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोभित्र पसेको बेला माथिबाट खसेकाे ढुङ्गाले च्यापिएर उहाँकाे घटनास्थलमै ज्यान गएकाे हो । दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्किएर ज्यान जाेगाएकाे प्रहरीले जनाएकाे छ । 

दुलोभित्रै च्यापिएको डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमकाे लागि दैलेख जिल्ला अस्पताल पठाइएकाे छ ।

मृतक रेशमबहादुर विष्ट नौमूले गाउँपालिका ७ काे पैतीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आउनुभएकाे थियाे । उहाँकाे श्रीमती र चार सन्तान छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया