यो मौसममा हिमताल फुट्ने जोखिम हुन्छ : विज्ञ

 साउन १०, २०७७ शनिबार १२:१५:२७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - बाढी पहिरोबाट पछिल्लो एक महिनामा मात्रै एक सय १६ जनाको ज्यान गयो । ८९ जना घाइते भए । ५२ जना हराएका छन् । लगातारको झरीसँगै एक महिनाभित्र भएका यी घटनाले नेपालमा बाढी पहिरोको जोखिम थपिएको देखाउँछ । 

धेरैले डोजर लगाएर जथाभाबी खनिएका सडकको कारण पहिरोको जोखिम बढेको बताएका छन् । पहाडमा जथाभाबी सडक खनेकाले जोखिम बढेको हुन सक्छ । तर यसबारेमा अध्ययन आवश्यक छ । बाढी पहिरोका विभिन्न कारणमध्ये हिमताल फुट्नु पनि एक हो । जुन नेपालमा उच्च जोखिम छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, ईसिमोडले सन् २०१५ मा गरेको अध्ययनअनुसार नेपालमा २ हजार ८६ वटा हिमताल छन् । 

जसले ८५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन् । तीमध्ये २१ वटा हिमताल जोखिममा रहेका र २१ मध्ये १६ वटा हिमताल उच्च जोखिममा रहेका ईसिमोडको प्रतिवेदनमा उल्लेख छ । च्छो रोल्पा, ईम्जा, ठुलागी, चामलाङ, वरुण, लुम्दिङ, लोवर बरुण, होङ्गु वान, होङ्गु टु, लुङ्देन ग्लासिएर लेकलगायत हिमताल उच्च जोखिममा छन् । तथ्याङ्कले नेपालमा हिमताल फुटेर बाढी तथा पहिरो आइ जनधनको क्षति पुर्याउने जोखिम धेरै रहेको देखाउँछ । 

हिमताल फुट्ने जोखिमयुक्त समय

हिउँदमा हिउँ जम्छ । हिउँ जमेपछि हिमनदी पनि जम्छ वा आकार धेरै घट्छ । हिमतालमा रहेको पानी पनि जमेर बरफ बन्छ । यसैले यो समयमा हिमताल फुट्ने डर कम हुन्छ । 

हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदी भन्नुहुन्छ, ‘हिमताल फुटेर क्षति गराउने जोखिम वर्षायाममा हुन्छ, यसबेला तापक्रम बढेसँगै हिउँ पग्लिएर हिमनदीको आकार बढेको हुन्छ, हिमतालमा बरफ पग्लिएर पानी बनेको हुन्छ, हिमताल भन्दामाथि वा आसपासमा पहिरो जान सक्छ, वर्षाको पानीलगायतका कारण हिमतालको आकार धेरै बढ्ने भएकोले हिमताल फुट्ने जोखिम रहन्छ ।’

‘जुनसुकै हिमताल फुट्न सक्छन्’

ईसिमोडले गरेको अध्ययनमा अनुसार नेपालका २१ वटा हिमताललाई खतराको सूचीमा छन् । तर हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदी बढी जोखिमको रुपमा देखाइएको भए पनि सबै हिमतालबाट खतरा रहेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ-‘केही वर्षअघि भर्खरै बनेको सानो हिमताल फुटेर भोटेकोशीमा बाढी आउँदा सिन्धुपाल्चोकको लिपिङ बजारमा ठूलो क्षति पुर्याएको थियो । त्यसैले कुन कति जोखिम भन्ने हुँदैन, केही दशकअघि मात्रै बनेका हिमतालहरु पनि फुटेर ठूलो जनधनको क्षति गर्ने भएकोले कुन कति खतराभन्दा पनि यदि हिमताल फुटेर बाढी आउन सक्ने संभावना छ भने त्यो नदी तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्छ ।’

यसअघि भूकम्प आउँदा हिमताल फुटेर धेरै क्षति पुर्याउँछ भन्ने मान्यता भए पनि २०७२ सालको भूकम्पले त्यो मान्यता गलत सावित भएको द्विवेदी बताउनुहुन्छ । गोरखा र सिन्धुपाल्चोकमा भूकम्पको केन्द्रबिन्दु बन्दा नजिकै रहेका ठूला हिमतालहरुमा क्षति नभएकोले भूकम्प आउँदैमा हिमताल फुट्ने जोखिम धेरै छ भन्न नमिल्ने तर वर्षायाममा हिउँ पग्लिएर तथा आकाशे पानीले आकार बढ्दा तथा वा हिमताल माथि पहिरो जाँदा जुनसुकै हिमताल फुट्न सक्ने संभावना रहेको उहाँ बताउनुहुन्छ । नेपाल हिमतालबाट क्षति हुन सक्ने उच्च जोखिममा रहेको पनि उहाँ बताउनुहुन्छ । 

हिमताल थपिनु र आकार परिवर्तन हुनु डरलाग्दो 
ईसिमोडले सन् १९८०-२०१० मा गरेको अध्ययनअनुसार हिमतालको क्षेत्रफल २४ प्रतिशतले बढेको छ । सन् २०१० पछि तुलनात्मक अध्ययन त भएको छैन, तर ईसिमोडकी अनुसन्धान सहायक फिनु श्रेष्ठ भन्नुुहुन्छ-‘सन् २०१० पछि पनि हिउँ पग्लिने, हिमनदीको आकार र सङ्ख्या बढ्ने तथा हिमतालले ओगटेको क्षेत्रफल बढ्ने क्रम जारी छ ।’ सन् १९७७ मा कोशी बेसिन अन्तर्गत १ हजार १६० हिमताल रहेकोमा २०१० मा २ हजार १६८ वटा पुगेका छन् । यो सङ्ख्याले पनि हिमताल बढिरहेको प्रष्ट हुन्छ । 

हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदी पनि नेपालमा हिमतालको संख्या र आकार वृद्धि डरलाग्दो भएको बताउनुहुन्छ । पाँच/छ दशकअघि मात्रै पनि सामान्य अवस्थामा रहेका च्छो–रोल्पा, इम्जालगायतका हिमतालको आकार डरलाग्दो गरी बढ्ने, सन् २००० तिर सामान्य रहेका वा अस्तित्वमै नरहेका हिमतालहरु अहिले दिनदिनै बढिरहनुले हाम्रा हिमालहरुमा जुनसुकै बेला विस्फोट हुन सक्ने खतरनाक बस्तु रहेको पुष्टि हुने उहाँ बताउनुहुन्छ । हरेकजसो हिमालका फेदतिर हिमतालहरु बन्ने र बढ्ने क्रम चलिरहेकोले यसतर्फ ध्यान जानुपर्ने अनुसन्धानकर्ता द्विवेदी बताउनुहुन्छ । 

कसरी बनिरहेका छन् हिमताल ?

हिमालबाट हिउँ पग्लिँदै हिमनदी बग्न थाल्छ । हिमनदीले हिउँका डल्ला, माटोका कण, चट्टानका टुक्रा लगायत बगाएर एक ठाउँमा थुपार्छ । त्यसरी थुपार्दै जाँदा बाँध बन्छ र पछि हिउँ पग्लिँदै आएको पानी जम्मा हुन थाल्छ । त्यस्तै पानी जम्न सक्ने भूगोल भएको ठाउँमा लामो समयसम्म हिमनदीले बगाएर ल्याएको बरफका टुक्रा वा पानी जम्मा हुँदै जाँदा वर्षौंमा तालको आकार लिन्छ । यसरी हिमतालहरु बन्ने क्रम पछिल्लो समयमा तीव्र बनेको द्विवेदी बताउनुहुन्छ । 

हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदीकाअनुसार विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तनको असर हाम्रा हिमालमा धेरै परेको छ । तापक्रममा थोरै वृद्धि हुँदा पनि हिउँ पग्लिने क्रम धेरै बढ्ने र यसरी हिउँ बढी पग्लिँदा हिमनदी हुँदै गएको पानी जम्मा भएर हिमतालको संख्या वा भएका हिमतालको आकार बढ्दै गएको पाइएको छ । यसको अर्थ हाम्रो हिमालको हिउँ पग्लिने र हिमताल बढ्ने क्रम चलिरहँदा हाम्रो हिमाली क्षेत्र हाम्रो लागि जोखिमपूर्ण बन्दैछन् । 

हिमताल फुट्दा हुने संभावित क्षति

अनुसन्धानकर्ता द्विवेदी भन्नुहुन्छ-‘हिमताल फुट्यो भने त्यहाँबाट ठूलो मात्रामा पानी र त्यहाँ रहेको लेदोको बाढी निस्कन्छ । हिमाल छेउमा रहेका हिमताल फुट्यो भने त्यहाँभन्दा तल रहेका ठाडो खोल्सामा थप पहिरो पनि चलाउन सक्छ । यसरी बाढी र पहिरो सँगै बगेर तल झर्दा सम्म ठाउँमा पुगेपछि त्यो लेदो, चट्टानलगायत थुप्रन्छ र नदीहरु थुनिन सक्छन् । अनि त्यो पनि फेरि एकैपटक बाढीको रुपमा अघि बढ्न सक्छ ।’

यसरी नदीमा एकै पटक बाढी आउँदा खोला किनारमा रहेका बस्ती, सडक, पुल तथा खेतीयोग्य जमिनमा पनि क्षति पुर्याउँछ । 

जोखिम कसरी घटाउने ?

अनुसन्धानकर्ता श्रीकमल द्विवेदीकाअनुसार हिमताल विस्फोटको जोखिम घटाउने प्रचलनमा रहेको उपाय जोखिम पहिचान गरी ती हिमतालको पानीको सतह घटाउने हो । जुन कुरा यसअघि दोलखाको च्छो–रोल्पा र सोलुखुम्बुको इम्जामा गरिएको थियो । तर यो उपाय धेरै खर्चिलो र जोखिमयुक्त हुने भएकोले नयाँ बन्न लागेका वा बन्दै गरेका हिमतालको आकार बढ्न नदिनु नै उत्तम हुने उहाँ बताउनुहुन्छ । 

अहिले भू-उपग्रह तस्बिर हेरेर कहाँ नयाँ हिमताल बन्दैछ, कुन हिमतालको आकार बढ्न थालेको छ भन्ने थाहा हुने भएकोले नयाँ बन्न लागेकै बेला त्यहाँ सतह कटान गरिदिएर पानी जम्मा हुने अवस्था आउन नदिने वा भर्खरै बढ्न थालेका हिमतालहरुको पानीको निकास बनाइदिने हो भने जोखिम कम हुने उहाँले बताउनुभयो । 

योसँगै नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई संभावित जोखिमको बारेमा जानकारी दिनुपर्ने द्विवेदी बताउनुहुन्छ । यदि कतैको ताल फुटिहालेमा प्रभावित हुन सक्ने तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा सन्देश पठाउने, स्थानीय बासिन्दाले पनि आफूभन्दा तल्लो क्षेत्रका मानिसलाई फोन गरेर जानकारी गराउने जस्ता कुरा प्रयोगमा ल्याएमा संभावित जनधनको क्षति घटाउन सकिने पनि उहाँ बताउनुहुन्छ । 

सरकारले जोखिम देखेको छैन

हिमताल नेपालका लागि निकै जोखिमका क्षेत्र हुन् । तर यसको जोखिम सरकारले देखेको पाईंदैन । बाढीलगायत प्रकोपको अध्ययन तथा सहयोगका लागि प्रयास भए पनि हिमताल विस्फोटको जोखिम न्यूनीकरणको लागि प्रयास गरेको पाईंदैन । 

पालिकाहरुले आफ्नो क्षेत्रको संभावित जोखिमका क्षेत्र पहिचान गरी जागरणका कार्यक्रम, नदी छेउमा बस्ती बसाल्ने क्रमलाई निरुत्साहित जस्ता काम गर्नुपर्ने र सङ्घीय सरकारले हिमतालको आकार घटाएर वा अरु विधिबाट जोखिम घटाउने तथा विस्फोट भइहालेमा प्रभावित क्षेत्रमा तत्काल सन्देश, उद्धार र व्यवस्थापनको तयारी गर्नुपर्ने विज्ञहरु बताउँछन् । 

यो समयमा बाढी पहिरोको जोखिम उच्च छ, पछिल्ला दिनहरुमा यस्ता घटना बढिरहेका छन् । बाढी पहिरोको विभिन्न कारण छन् । यी कारणमध्ये नेपालमा संभावित कारण हिमताल विस्फोट पनि हुन सक्छ । यदि कुनै हिमताल फुटेमा त्यसले निकै धेरै क्षति गर्ने भएकोले यसबारेमा पनि सरकार चनाखो रहनुपर्ने हुन्छ । 
 

अन्तिम अपडेट: भदौ २६, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया