'टिकट बुकिङमा कालोबजारीका कारण स्वदेश फर्किन पाइएन, अब त्यस्तो नहोस्'

 साउन १०, २०७७ शनिबार १८:१२:३४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

जीवन न्यौपाने, झापा/हाल यूएई ।

कोभिड १९ ले विश्वव्यापी महामारीको रुप लिएपछि  म काम गर्ने होटल बन्द भयो । त्यसपछि काम पनि भएन । म काम नगरेरै कोठामा बसेको अहिले चार महिना बितिसक्यो ।

कोरोनाको बढ्दो सङ्क्रमणले यूएईमा रहेको पर्यटन क्षेत्रमा धेरै नकारात्मक असर पर्न गयो । साथै धेरै कम्पनीहरूको व्यवसाय ओरालो लाग्न थालेपछि आफ्ना कर्मचारीहरुलाई कामबाट निकाल्न सुरु भयो । यसको असर यूएईमा पर्यटन क्षेत्रमा काम गर्ने धेरै नेपालीहरुमा पनि पर्यो । 

नेपाली दूतावासले नेपालीहरूको हवाई उडान सञ्चालन हुनेबित्तिकै समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता पठाउने भनेर अनलाइन आवेदन पनि जारी गर्यो ।

मैले पनि त्यो आवेद भरेँ । स्वदेश फर्किन पाउनेमध्ये दूतावासको प्राथमिकताको सूचीमा मेरो नाम पनि पर्यो ।

नाम त आयो तर आफूसँग टिकट लिनको लागि पैसा थिएन । म कार्यरत कम्पनीले त्यहाँ कार्यरत म लगायत २६ जना कामदारहरुको जुलाई १ को टिकट बुकिङ गरेको थियो ।

तर नियमित उडान नभएका कारण त्यो टिकट रद्ध भयो । उद्धार उडानको महंगो टिकट काटेर कम्पनीले पठाउन चाहन्न ।

तिमीहरुको देशले नियमित उडान सुरु गरेपछि मात्र टिकट काटिदिन्छौं भन्छ । नियमित उडान सञ्चालन गरेका धेरै देशका नागरिकहरूलाई हामीले पठायौं तर तिमीहरूको सरकारले किन अनुमति नदिएको भन्छ ? कम्पनीबाट पनि नहुने जस्तो भएपछि यसरी कति बस्नु भनेर साथीहरुसँग पैसा सापटी लिएर चार्टर उडानको त्यही महंगो टिकट काटेरै भए पनि घर जाने विचार गरेँ । 

दूतावासले तोकेको टिकट काट्ने ठाउँमा गएँ तर पैसा भएर पनि के गर्नु टिकट लिनको लागि धेरै नै गाह्रो पर्यो । एजेन्सीले तपाईंको पासपोर्टको फोटोकपी नजिकैको बक्समा ड्रप गर्नुहोस्, तपाईंको पालो आएपछि फोन गर्छौं भन्यो । त्यो दिन मन निराश भएर टिकट नलिई आफ्नो कोठा फर्किएँ । फेरि केही दिनपछि जाँदा पो थाहा भयो, टिकट नपाउनुको कारण त कालोबजारी रहेछ ।

१४०० पर्ने टिकटलाई १७ सय देखि लिएर दुई हजार दिर्हामसम्म बेचेको थाहा भयो । अहिले प्राकृतिक प्रकोप साथै बाढी पहिरोको कारण बाटो अबरुद्ध भएकाले नेपाल सरकारले केही दिनको लागि स्वदेश फिर्ती उडान रोकेको अवस्था छ ।

अब त आशा मरिसक्यो । नियमित उडान नखुलेसम्म जान पाइदैन जस्तो लागेको छ  ।

नियमित उडानपछि पनि टिकट बुकिङको लागि हुने यस्तो कालोबजारी भएर टिकट नपाइने समस्या पो हुने हो कि, चिन्ता लाग्न थालेको छ ।

यूएईले भिसा सम्बन्धि नियम परिवर्तन गरेर जुन १२ वा सो भन्दा माथि भिजा रद्द भएकाहरुले आगामी अगस्ट १२ सम्म या त भिसा नवीकरण गर्नुपर्ने कि त यू ए ई  छोड्नुपर्ने भनेको छ ।

नेपाल सरकारले यहाँको नियम कानुन विचार गरेर त्यही अनुसार उद्धारको प्रक्रिया अगाडि बढाउन आवश्यक छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया