नेपाल छिरेका सलह निस्क्रिय हुँदै

सीमावर्ती क्षेत्रबाट सलहकाे झुण्ड आउने सम्भावना कायमै

 साउन ११, २०७७ आइतबार ८:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा छिरेका सलह निस्क्रिय हुँदै गएका छन् । गएको ३,४ दिनयता कतैपनि सलह सक्रिय भएको जानकारी नआएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

हावाको बहावसँगै सलहको झुण्ड मुस्ताङलगायत उच्च पहाडी क्षेत्रतिर पुगेका र मौसम प्रतिकूलताका कारण धेरैजसो मरेका छन् । बाँचेका सलह पनि खान, बस्न नै नसकेर निस्क्रिय भएका उहाँले बताउनुभयो । तर भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड नेपाल आउने सम्भावना भने कायमै छ ।

तत्काल नै आउने सम्भावना के कति छ भन्नेबारे आज दिउँसो विज्ञसँगको छलफलपछि मात्रै थाहा हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक हुमागाईँले जानकारी दिनुभयो । उहाँकाअनुसार सीमावर्ती क्षेत्रमा कतिको सङ्ख्यामा छन् ? भारतमा मौसमको अवस्था के छ ? र नेपाल आएमा कत्तिको नोक्सानी पुर्याउन सक्छ ? भनेर आज छलफल गरेपछि जानकारी गराइनेछ । 

हिजो अस्तिसम्म नै नेपाल आउने अनुमान गरिएको सलहको झुण्ड भारतमा मौसम प्रतिकूलताका कारण आउन नसकेको हुनसक्ने उहाँको भनाइ छ । आज सलहको प्रक्षेपण गर्ने एपमार्फत पनि विस्तृत जानकारी लिने र सूचना प्रकाशन गरिने उहाँले बताउनुभयो । धुवाँ बाल्ने र ठूलो आवाज निकाल्ने गर्नाले सलह धपाउन सकिन्छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया