वीरगञ्जको कोरोना अस्पतालमा एक जनाको ज्यान गयो

 साउन ११, २०७७ आइतबार ११:२३:३९ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा एक जनाको ज्यान गएको छ । 

श्वासप्रश्वासमा समस्या भएपछि हिजो बेलुकी अस्पताल भर्ना गरिएका वीरगञ्ज आदर्शनगरका ६५ वर्षका पुरुषको आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । 

श्वासप्रश्वासमा समस्या आएकाले उनलाई आकस्मिक कक्षकै भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर निरज सिंहले बताउनुभयो । उहाँकाअनुसार ती पुरुषको आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको तर पीसीआर विधिबाट भने परीक्षण गर्न बाँकी छ ।

परीक्षणको लागि स्वाब संकलन गरिएको र बेलुकीसम्ममा रिपोर्ट आउने डाक्टर सिंहले जानकारी दिनुभयो । पीसीआर रिपोर्ट नआउँदासम्म शव आकस्मिक कक्षमै राखिने अस्पतालले जनाएको छ । यसअघि वीरगञ्जमा भारत माइती भई वीरगञ्ज-२१ बस्दै आएकी १७ वर्षकी युवतीको शुक्रबार बेलुकी ज्यान गएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेशनमा वीरगञ्ज-११ श्रीपुरकी ८५ वर्षकी वृद्धाको ज्यान गएको थियो । 

अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये ४ जनाको अवस्था जटिल रहेको डाक्टरले बताएका छन् । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया