प्रदेश १ : कोरोना प्रभावित किसानलाई सात करोड ९१ लाख अनुदान

 साउन १२, २०७७ सोमबार १३:२२:२२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । 

कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति भाेगेकाहरुबाट आएको विवरणका आधारमा राहत वितरण गरिएको प्रदेश १ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताउनुभयो । प्रदेश सरकारले पहिलो चरणमा किसानको क्षतिको विवरण सङ्कलन गरिएअनुसार सहकारी मन्त्रालयमार्फत तीन लाख ५४ हजार ढुवानी अनुदान दिइएको छ ।

कृषि विकास निर्देशनालयमार्फत एक हजार तीन सय १० जना किसानलाई चार करोड ४२ लाख १६ हजार वितरण गरिएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत तीन सय ६९ किसानलाई तीन करोड ४६ लाख तीन हजार कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदान वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का १४ जिल्लाबाट प्राप्त भएको विवरणका आधारमा फिल्ड भेरिफिकेशनका आधारमा एक हजार ६ सय ८० जना किसानले राहत पाएको प्रवक्ता उप्रेतीले बताउनुभयो । 

मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री रामबहादुर रानाले कोभिड–१९ प्रभावित राहत सहयोग अनुदान कार्यक्रममा दुग्धजन्य पदार्थ उत्पादन, बिक्री, कुखुरा, बङ्गुर पालन, हरियो चियापत्ती, तरकारी तथा फलफुल, च्याउ खेती, कृषि ऋणमा ब्याज छुट, विद्युत् महसुल छुट र कृषि ढुवानीमा रहेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले कोरोना प्रकोपका कारण रोजगारी गुमाएका र बेरोजगार युवालाई लक्षित गरी नयाँ कार्यक्रम ल्याएको छ । जसका लागि प्रदेश सरकारले प्रति युवा पाँच लाखका दरले ऋण उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले तीन वर्षसम्म तिरिदिने गरी कार्यक्रम ल्याइएको मन्त्री रानाले बताउनुभयो ।

सरकाले छुट्याएको १५ करोडबाट तीन अर्ब ऋण प्रवाह हुने भएकोले त्यसलाई रोजगारीमा लगाउनको लागि तयारी भइरहेको बताउनुभयो । त्यसको लागि कार्यविधि बनाएर प्रभावकारी बनाइने तयारी सरकारको छ । रोजगारी निर्माणको लागि १५ करोड र पालिकासँगको समन्वयको लागि पाँच करोड रकम छुट्याइएको मन्त्री रानाले जानकारी दिनुभयो । 

आर्थिक वर्षको अन्त्यसम्ममा मन्त्रालयले ३५ दशमलव ८१ प्रतिशत खर्च गरेको छ । वार्षिक विनियोजित बजेट तीन अर्ब १९ करोड ३७ लाखबाट त्यति प्रतिशत खर्च भएको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया