विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

 साउन १२, २०७७ सोमबार १६:३७:४८ | रासस
unn.prixa.net

पाल्पा – बगनासकाली गाउँपालिका ६ काे यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि झण्डै दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाउनुभएको छ । आफूसहित तीन जना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ । 

‘पहिला गाउँमा कमाउने उपाय देखिएन,विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ’, उहाँले भन्नुभयो । 

विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिइ तरकारी खेती गरेका छन् । समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ ।

झण्डै दश वर्षसम्मको समय उहाँले कतारमा बिताउनुभयो । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुसी हुनुहुन्छ । 

युवाले तीन वर्षअघि दुई/दुई लाख रुपैयाँ रकम उठाएर तरकारी खेती सुरु गरेको बताएका छन् । अहिले वर्षमा झण्डै पाँच/छ लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताउनुभयो । वार्षिक १५ लाख रुपैयाँ बराबरको कमाइ गर्ने लक्ष्य रहे पनि सुरुवाती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । 

विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आवद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउनुहुन्छ । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ । 

यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गर्नुभएको छ । उहाँहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लाग्नुभएको छ । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँ बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी बिक्रीबाट एक वर्षमा पाँच लाख रुपैयाँ आम्दानी लिनुहुन्छ । 

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताउनुभयो । करिब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्नुहुन्थ्यो ।

त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती सुरु गर्नुभएको हो । थापाको तरकारी व्यवसाय अहिले अवलोकन योग्य बनेको छ । बहराइनमै करिब आठ वर्ष बिताउनुभएका लालबहादुर थापा पनि गाउँकै जमिनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउनुहुन्छ । 

कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन पालिकाले जोड दिनुपर्ने कृषकको माग छ । 

रामपुर नगरपालिका क्षेत्रमा करिब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरी पाण्डेयले बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । 

ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया