एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

 साउन १२, २०७७ सोमबार १५:५९:१ | रासस
unn.prixa.net

काठमाण्डाै – पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ ।   

गएकाे साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार सात सय तथा चाँदीको मूल्य प्रतितोला सात सय ७५ रुपैयाँ कायम भएको थियो ।   

यस्तै एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला चार सय ३५ रुपैयाँ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा साेमबार पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार साेमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ ।   

महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० रुपैयाँ निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय ६० रुपैयाँ तोकिएको थियो ।   

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२ दशमलव २० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।

महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउनुहुन्छ । सुन प्रतितोला झण्डै एक लाख रुपैयाँ पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया