‘अहिले नै कोरोना समुदायमा फैलिसक्यो भन्न हतार हुन्छ’

 साउन १३, २०७७ मंगलबार ७:५४:३५ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका केही ठाउँ र बारा, पर्सा, बाँकेलगायत जिल्लामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएसँगै कोरोना समुदायमा नै फैलिसकेको हो कि भन्ने डर बढेको छ । 

केही प्रदेश, जिल्ला तथा पालिकाका प्रतिनिधि नै समुदायमा कोरोना फैलिएको भनेर डराउन थालेका छन् । लकडाउन खुकुलो भएसँगै लक्षणसहितको कोरोना सङ्क्रमित भेटिन थालेकाले समुदायस्तरमै सङ्क्रमण फैलिएको हो कि भन्ने शङ्का बढेको छ । 

यसै विषयमा स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन मापन महाशाखा प्रमुख डाक्टर विकास देवकोटासँग टेकमान शाक्यले कुराकानी गर्नुभएको छ ।

नेपालमा समुदायमा नै कोरोना फैलिएको भनेर एक खालको चिन्ता बढ्न थाल्यो । कोरोना साँच्चै समुदायमै फैलिसकेको हो ?

अहिले देशभरको कोरोनाको सङ्क्रमण दर हेर्ने हो भने कम हुँदै गएको छ । तर विभिन्न जिल्लाहरुमा ‘क्लस्टर’ को रुपमा भने देखिन थालेको छ । एक्कासी धेरै लक्षण देखिएका बिरामी भेटिएमा परीक्षण गर्दा कोरोना पोजेटिभ भेटियो भने त्यस्तो अवस्थामा समुदायमा प्रवेश गरेको भन्न सक्छौँ । यदि कुन व्यक्तिबाट कुन व्यक्तिमा कसरी कोरोना सङ्क्रमण सरेको हो भनेर पत्ता नलागेको अवस्थामा पनि हामीले कोरोना समुदायमा फैलिएको भन्न सक्छौँ । 

यी दुई हिसाबले हेर्ने हो भने विभिन्न ठाउँमा समुदायस्तरमा कोरोना छ । तर, यतिलाई मात्रै आधार मानेर नेपालमा कोरोना भाइरसको सङ्क्रमण ‘कम्युनिटी ट्रान्समिशन’ भएको छ भनेर भन्न अलि हतार हुन्छ ।

तर, काठमाण्डौ उपत्यकाका केही र बारा, पर्सा, बाँके लगायत जिल्लामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ नि ?

तपाईँले भन्नुभएजस्तै फाट्टफुट्ट ट्राभल हिस्ट्री नभएको र नेपालमै बसिरहेका व्यक्तिमा कोरोना पुष्टि भइरहेको छ । उनीहरुमा को व्यक्तिबाट सरेको भनेर अहिलेसम्म पत्ता लगाउन सक्ने अवस्था छैन । यसलाई अलिक लेखाजोखा गरेर अघि बढ्नुपर्ने देखिएको छ । 

पछिल्लो समय केही ठाउँमा त्यस्ता घटनाक्रम देखिए पनि सङ्क्रमितको संख्या कम भएकोले अहिले नै ‘कम्युनिटी ट्रान्समिशन’ भनेर हामी भन्दैनौँ । देश ‘कम्युनिटी ट्रान्समिशन’ मा पटक्कै छैन । तर विभिन्न ठाउँमा भने हुन थालेको भन्न सकिन्छ । त्यही हिसाबले हामीले अहिले विश्लेषण गरिरहेका छौँ ।

समुदायमा परीक्षण कम भएको र भएका परीक्षण पनि सचेत वर्गमा केन्द्रीत रहेको भन्ने गुनासो पनि आउन थालेको छ नि ?

तथ्याङ्कले पनि कम भएको त देखाउँछ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायर घटाएको या कम गरेको भनेर भन्न चाहिँ मिल्दैन । क्वरेण्टीनमा बस्ने व्यक्तिको सङ्ख्या घटेकाले अहिले कम देखिएको हो । अब हामी अस्पताल केन्द्रीत र समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन केन्द्रीत हुनुपर्छ । 

किनभने अहिले लक्षण देखिएका कोरोना सङ्क्रमित व्यक्तिहरु पनि हुनुहुन्छ । अब हामी अस्पताल क्षेत्रमा र बाहिरबाट आएका व्यक्तिलाई केन्द्रमा राखेर परीक्षणको दायरा बढाउँदै छौं । सबैको परीक्षण सर्वसुलभ गराउनुपर्छ भनेर मन्त्रालयले आफ्नो गृहकार्य अघि बढाइरहेको छ । निजी र सरकारी प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण काम गरिरहेका छौँ । 

प्रदेश, जिल्ला तथा पालिकाहरु नै समुदायमा कोरोना फैलिएको भनेर डराउन थालेका छन् । केही प्रदेशका प्रदेश प्रमुख र पालिकाका जनप्रतिनिधिले समेत कोरोना समुदायमा फैलिसकेको हुन सक्ने बताउन थालिसके । सरकारले उनीहरुलाई चित्तबुझ्दो जवाफ दिन किन नसकेको ?

चित्तबुझ्दो जवाफ भनेको समुदायमा कोरोना फैलिसकेको अवस्था छैन । तर हामी त्यो क्षणमा भने आइपुगेका छौँ । अहिलेको मुख्य प्राथमिकता नै एकबाट अर्कोमा सङ्क्रमण फैलन नदिनु नै हो । त्यो भनेको हामीले अपनाएका विधिहरु नै हुन् । सबैले हातेमालो पनि गर्नुपर्छ यो बेलामा । अहिले नै कम्युनिटी ट्रान्समिशन भएको भनेर धेरै त्रसित हुनु पर्दैन, तर केही ठाउँमा भने डराउनुपर्ने अवस्था आएको भने पक्कै हो । 

अबका दिनमा परीक्षण बढी गर्ने, सङ्क्रमितको उपचार राम्रोसँग गर्ने र लकडाउन खुलेपछिको बानी व्यहोरा जस्तै मास्क लगाउने , हात धुने र दूरी कायम गर्न छाड्नु हुँदैन । प्रदेशका साथीहरुले हामीसँग सम्पर्क गरेर पछिल्लो अवस्थाबारे जानकारी गराउने गर्नुभएको छ । अहिले त्यसको लेखाजोखा गर्ने बेला भएको छ, त्यही अनुसार हामी अघि बढ्दैछौँ ।

सरकारले दिनको १५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने क्षमता हामीसँग छ भन्छ, तर दैनिक परीक्षणको अवस्था त्यस्तो पाइँदैन । परीक्षणको क्षमता हुँदाहुँदै दायरा बढाउन केही समस्या छ र ?

त्यस्तो खासै केही समस्या छैन । अस्पतालमा रहेका प्रयोगशाला र अन्य ठाउँमा रहेका प्रयोगशालाहरु पनि परीक्षणका लागि तयारी अवस्थामा नै छन् । निजीलाई पनि पीसीआर परीक्षणको जिम्मेवारी दिइएको छ । छिटो गर्नका लागि विभिन्न मेशिनहरु पनि ल्याइएको र जडानको प्रक्रियामा छ ।

सबै तयारी हुँदा पनि परीक्षण किन हुन सकेन भन्ने प्रश्न सबैको छ । त्यसका लागि क्वरेण्टीनमा बसेका सबैको पीसीआर गर्न काम भइरहेको छ । समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर हेर्न ठूलो स्केलमा नमुना परीक्षण गर्दैछौँ ।

अन्त्यमा, समुदायमा कोरोना फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न सरकारले कस्तो रणनीति बनाउँदैछ र तत्काल के गर्दैछ ?

हरेक पालिका केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने सरकारको रणनीति छ । त्यो भनेको कन्ट्रयाक ट्रेसिङलाई अलि बढाउने भन्ने हो । कन्ट्रयाक ट्रेसिङ गरेर मात्रै समुदायमा फैलिएको हो वा होइन भनेर थाहा पाउन सकिन्छ । अर्को रणनीति भनेको हामीले केन्द्रदेखि जिल्ला र पालिकासम्म केही र्‍यापिड एक्सन टीम तयार पारेका छौँ ।

जसले सबै अस्पतालको सेवा सञ्चालन भएको छ कि छैन भनेर हेर्न सहयोग पुग्नेछ । तेस्रो भनेको हाम्रा बानी सुधार्न के गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ । यी तीनवटै रणनीतिलाई एकैचोटी अघि बढाएर कोरोनासँग लड्ने नीति सरकारले लिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया