काठमाण्डौ उपत्यकामा हात धुने ‘स्टेशन’ : स्थापना भयो, टिकाउन चुनौती

 साउन १३, २०७७ मंगलबार १३:४६:२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै  - हरि देउला कामबाट फर्किँदा सधैँ कीर्तिपुरको प्रवेशद्वारमा राखिएको ट्याङ्कीमा हात धुनुहुन्छ । फोहर सङ्कलन तथा सरसफाइसम्बन्धी काम गर्ने उहाँ कामबाट फर्किँदा बाटो पर्ने त्यही ठाउँमा हात धुने गर्नुहुन्छ । 

कीर्तिपुर नगरपालिका र गुथी नामक गैरसरकारी संस्थाको सहकार्यमा धारो राखेपछि बाटो हिँड्ने धेरैलाई सजिलो भएको छ । यहाँ हात धुँदा धाराको टुटी बटारेर खोलिरहनु पर्दैन । हातले नछोइकन प्रयोग गर्न मिल्ने हात धुने स्टेशनमा खुट्टाको सहायताले बायाँ प्याडल दबाउँदा साबुनको झोल आउँछ, दायाँ प्याडल दबाउँदा पानी आउँछ । यो हात धुने स्टेशन दुई महिनाअघि स्थापना गरिएको हो । 

विशेष गरी फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुर, कर्मचारी र सडकमा हिँडिरहनुपर्ने सुरक्षाकर्मीका लागि लक्षित गरेर बनाइएको र निकै प्रभावकारी भइरहेको सञ्चालक तथा अनुगमनकर्ता सक्षम महर्जनले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बसपार्क नजिकै भएकाले धेरैलाई हात धुनका लागि यो निकै पायक पर्छ ।’ चालक, सहचालक तथा यात्रुले समेत यहाँ हात धुन्छन् । स्टेशन हप्ताको दुई पटक सफा गर्ने गरिएको छ । 

हात धुन ट्याङ्करको पानी प्रयोग गरिएको महर्जनले बताउनुभयो । दिनभरमा कतिले हात धुन्छन् त गनेको छैन तर दिनभर नै खाली भने नहुने उहाँको भनाइ छ । फोहरमैला सङ्कलन गर्नेहरुमा पनि कोरोनाको जोखिम धेरै रहेकाले उनीहरुलाई लक्षित गरेर स्टेशन राखेको गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो । 

कीर्तिपुरमा एक सयभन्दा धेरै फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुर छन् । कीर्तिपुरको पाँगा दोबाटो, नगाउँ दोबाटो र ढोकाशी टोलमा पनि यस्तै स्टेशन राखिएका छन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक वाग्मती प्रदेशले सञ्चालन गरेको हात धुने स्टेशन टेकुको मयलबारीमा छ । यो स्टेशनको लागि वेस्ट म्यानेजमेन्ट सर्भिस काठमाण्डौ प्रालिका कार्यकारी अध्यक्ष वासु उप्रेतीले साबुन र पानी उपलब्ध गराउँदै आउनुभएको छ।

यस्तै उप्रेतीले गुथी संस्थाले सञ्चालन गरेको कुलेश्वर चोकमा रहेको हात धुने स्टेशनमा पनि सहयोग गर्दै आउनुभएको छ । दुवै स्टेशनका लागि उहाँले २५ वटा जार किन्नुभएको छ र आफ्नै घरको पानी प्रयोग गर्नुहुन्छ । यी दुई वटा स्टेशनमा गरी हप्तामा हात धुनका लागि दुई हजार लिटर पानी लाग्ने गरेको उहाँले बताउनुभयो ।

काठमाण्डौका विभिन्न ठाउँमा नेपाल रेडक्रस सोसाइटीले पनि हात धुने स्टेशन राखेको छ । रेडक्रसले विभिन्न वडासँग समन्वय गरेर काठमाण्डौका २१ ठाउँमा यस्ता स्टेशन राखेको छ । 

त्यसमध्ये चार वटा होल्डिङ सेन्टरमा राखिएको छ भने कीर्तिपुरको राधास्वामी सत्सङमा दुई वटा, सामाखुशीको राधाकृष्ण सत्सङमा दुई वटा, काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर १० मा एक एक वटा, वडा नम्बर १६ मा दुई वटा, १७ मा एक वटा र वडा नम्बर २८ मा एउटा हात धुने स्टेशन राखिएको छ । 

त्यस्तै बूढानीलकण्ठमा पाँच वटा, बाल उद्धारमा एक वटा, कोटेश्वरको सरस्वती माविमा एक वटा, बाल व्यवसायी माविमा एउटा गरी २१ ठाउँमा राखेको नेपाल रेडक्रश सोसाइटीका काठमाण्डौ जिल्लाका मन्त्री स्याम डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी ठाउँमा पनि ट्याङकरको पानी र झोल साबुनको प्रयोग हुने गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बेलाबेला साबुन पानीले हात धुन विश्व स्वास्थ्य सङ्गठनले समेत आग्रह गर्दै आएको छ । गुठी संस्थानका प्राविधिक सल्लाहकार प्रकाश अमात्य हात धुनु कोरोना सङ्क्रमण रोक्नका लागि मात्र नभएर अरु रोगबाट जोगिनका लागि पनि उत्तम उपाय भएको बताउनुुहुन्छ । 

सार्वजनिक स्थलमा हात धुँदा पानीको धारा, टुटी वा धातुको भाँडोमा धेरैले छुन्छन् । यसरी छुँदा कोरोनाको जोखिम हुने हुँदा स्पर्शरहित हात धुने स्टेशनको सुरुवात गरिएको हो ।

सबै ठाउँमा प्रभावकारी हुन सकेनन् 

कोरोना रोकथाममा सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ उपत्यकाभर विभिन्न संस्थाको सहयोगमा ५० भन्दा धेरै यस्ता हात धुने स्टेशन छन् । तर यस्ता स्टेशन स्थापना गर्नुभन्दा लामो समय टिकाएर राख्नु चुनौती देखिएको छ । 

यो अभियानलाई निरन्तरता दिन सम्बन्धित पालिका र वडाको महत्त्वपूर्ण भूमिका रहन्छ । कतिपय ठाउँमा भने वडा तथा नगर र महानगरले बेवास्ता गरेकाले साबुन पानीको अभावमा व्यवस्थापन राम्रो हुन सकेको छैन ।

कोरोना जस्तो महामारीको सङ्क्रमणको त्रास, त्यसमा पनि लकडाउन हटाइएको अवस्थामा  अत्यावश्यक काममा निस्कने कर्मचारी र नागरिकका लागि यस्ता हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ । 

सम्बन्धित निकायले यसलाई चासो दिने हो भने आफूले काठमाण्डौ उपत्यकाभरि नै साबुन र पानीको व्यवस्था गरिदिने वेस्ट म्यानेजमेन्ट सर्भिस काठमाण्डौ प्रालिका कार्यकारी अध्यक्ष वासु उप्रेती बताउनुहुन्छ ।

प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिका, सम्बन्धित वडा कार्यालय र समुदायले लिने शर्तसहित एक सम्झौतामा नगरपालिका, गुथी र वाटर एड नेपालबीच हस्ताक्षर भएको छ । 

यो प्रविधिको निरन्तरता र दिगोपनालाई कायम गर्न सके हात धुने बानीलाई व्यापकता ल्याउन सकिने र जनस्वास्थ्यप्रति संवेदनशील हुने तथा कोभिड–१९ जस्ता महामारीबाट रोकथाम गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया