घर फर्कन टिकट नपाएको श्रमिकको गुनासो, दूतावास भन्छन् : उडान सङ्ख्या बढेपछि सहज हुन्छ

 साउन १४, २०७७ बुधबार ६:४८:१ | सन्जिता देवकोटा

काठमाण्डौ – कोरोनाको महामारीका कारण विदेशमा काम र कमाइ नभएपछि झण्डै ३५ हजार नेपाली स्वदेश फर्किएका छन् ।

अझै हजारौं श्रमिक घर फर्कने बाटो हेरेर बसिरहेका छन् । कोरोनाको डर र काम गुमेपछि बिहान बेलुकाको छाक टार्न समेत अरुकै भर पर्नुपरेको बेला यस्तो समस्यामा परेका श्रमिकलाई लिन नेपालबाट जहाज जान थाले । समस्यामा परेका नेपाली घर फर्कन पाउने खुशीले फुरुङ्ग भए । रोग, भोक, शोक र अत्यासलाई गाउँघरको माया, आशा र उत्साहले जित्यो । 

समस्यामा परेका नेपाली लिन नेपालबाट जहाज पनि गए, कतिपय विदेशी कम्पनीका जहाजले पनि नेपाली लिएर फर्किए । तर ती जहाजबाट घर फर्कन धेरैले टिकट पाएनन् । आफ्नै खर्चमा टिकट काटेर फर्कन्छु भन्दा पनि टिकट नपाएपछि श्रमिकहरु निराश भए् ।

खल्ती रित्तिंदै छ । पासपोर्टमा लागेको भिसा र करारको म्याद सकिएको छ । अब ढिला गरे कानुनी कारबाहीमा पर्ने डर छ । तर घर फर्कने पालो कहिले आउँछ भन्ने ठेगान छैन । किन यस्तो समस्या भइरहेका छ त ? आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि श्रमिकले किन टिकट पाएनन त ? 

सरकारले उडानको सङ्ख्या बढाइदिए सबैलाई पठाउन तयार छौं 

प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत
राजदूत, साउदी अरेबिया ।

जो यहाँबाट घर फर्कन चाहनुहुन्छ उहाँहरुलाई जतिसक्यो छिटो जान पाए हुन्थ्यो भन्ने छ । यो स्वभाविक पनि हो । तर समस्या के छ भने उडान नै सीमित छ । अहिले जसको नाम लिस्टमा आएको छ उहाँहरुको गुनासो उड्न पाइएन भन्ने छ ।

जसको नाम आएन उहाँहरुको गुनासो हाम्रो नाम दूतावासले किन निकालेन भन्ने छ । साउदीमा रहेका नेपालीमध्ये अहिलेसम्म १७ हजार जनाले घर फर्कने इच्छा र कारणसहित निवेदन दिनुभएको छ । उहाँहरुमध्ये हामीले सरकारको प्राथमिकता अनुसार छनोट गर्दा ११ हजार ५ सय १५ जनाको सूची प्रकाशित गरेका छौं । 

उहाँहरुमध्ये झण्डै ५ हजार फर्कनुभयो । तर बाँकीले त कुर्नुपर्ने अवस्था छ । यो अवस्थामा श्रमिकलाई छिटो घर जान पाए हुन्थ्यो भन्ने हतारो पनि छ । अनि टिकटको समस्या पनि छ । 

तर जसको नाम प्राथमिकतामा परेको छ, उहाँहरु ढुक्क हुँदा हुन्छ । अहिले पनि उडानहरु रोकिएका छैनन् । भइनै रहेको छ । अगष्टको पहिलो हप्ता पाँच सात उडान हामीले पाएका छौं । त्यसबाट पनि १५ सय, दुई हजार जना जान पाउनुहुन्छ । 

तर समस्या के भयो भने बाँकीले त अझै केही समय कुर्न पर्छ । चार्टर्ड उडान नै सीमित सङ्ख्यामा छ । सिट पनि सीमित नै छ । हामीले पनि के गर्ने ? प्राथमिकतामा पर्नेको नाम निकालिदिएका हौं । जसको नाम निस्कियो, उहाँहरु जान त पाउनुहुन्छ नि । नाम प्राथमिकतामा परेपछि धेरै कुरामा फाइदा पनि छ । उहाँहरुले क्लियरेन्स पाउनुहुन्छ । अर्को फाइदा के भयो भने काठमाण्डौसम्म यो नामको भ्यालिडिटी कायम रहन्छ । 

हामी एक दिन पनि विना काम बिताएका छैनौं । निरन्तर श्रमिक दाजुभाइकै सहजताका लागि खटिरहेका छौं । तर पनि साउदीजस्तो देश यहाँ समस्यामा धेरै हुनुहुन्छ र घर फर्कन खोज्ने पनि धेरै हुनुहुन्छ भने पनि यस्ता ठाउँमा उडानको सङ्ख्या बढाइदिनु पर्‍यो । 

स्रोत साधन नै सीमित छ । चार्टर्ड उडानहरु नै सीमित छ । हामीले मागेजति उडानहरु सरकारले दिने हो भने हामी जान खोज्ने सबैलाई पठाउन सक्छौं । हामी तयारी अवस्थामा छौं । हामी तयार नभएर होइन, उडान नै सीमित भएर हो । 

हामी एक दिन पनि विना काम बिताएका छैनौं । निरन्तर श्रमिक दाजुभाइकै सहजताका लागि खटिरहेका छौं । तर पनि साउदीजस्तो देश यहाँ समस्यामा धेरै हुनुहुन्छ र घर फर्कन खोज्ने पनि धेरै हुनुहुन्छ भने पनि यस्ता ठाउँमा उडानको सङ्ख्या बढाइदिनु पर्‍यो । 

जहाँ समस्या छैन त्यहाँको उडानहरु बच्यो नि त । जस्तो बहराइन र ओमानजस्ता देशमा समस्या कम छ । त्यहाँको उडान यता थप्ने हो भने उडान छिटो हुने थियो । हामी पनि चाहन्छौं सबैलाई पठाउन तर उडान सङ्ख्या नै कम छ त के गर्ने ? सबैले आफ्नो तर्फबाट तयारी गरेका छौं ।

अब मलाई लाग्छ, अबको एक, डेढ महिनामा सबै कुरा ठिक हुन्छ । ५, ७ हजार मान्छे जानुपर्ने हुनुहुन्छ, उहाँहरु अबको एक महिनामा घर पुग्नु हुनेछ । यो सातामा पनि हामी पठाउँदै छौं । तर अब नियमित उडान भयो भने चाहिँ यो समस्या समाधान हुनेछ ।

 अर्को कुरा श्रमिक दाजुभाइहरु नआत्तिनुहोस् । साउदीले अझै पनि कोभिडका कारण भिसा, करार लगायतका कारण जरिवाना गर्ने भनेको छैन । तपाईँहरू विना दण्ड जरिवाना नै फर्कन पाउनुहुनेछ । हामीले तपाईँहरूको समस्यालाई गम्भीरताका साथ लिएका छौं ।

सरकारलाई अनुरोध पनि गरेका हाैं । तर भनेको बेला फर्कन नपाउँदा अलिअलि गुनासो आउँछ । यो स्वभाविक पनि हो । नियमित उडान खुलेपछि यो समस्या समाधान हुन्छ । आफ्नो इच्छा अनुसार टिकट काटेर फर्कन पाउनुहुनेछ ।  

नियमित उडान सुरु भएपछि समस्या समाधान हुने विश्वास लिएको छु

कृष्णप्रसाद ढकाल
राजदूत, यूएई ।

अहिलेसम्म यहाँ समस्यामा पर्नुभएका ८ हजारभन्दा धेरैलाई पठाउन सफल भयौं ।

​हामीले सम्बन्धित सबै पक्षसँग समन्वय गरेर, सबैको सहयोग र समन्वयमा नै उहाँहरुको स्वदेश फिर्ती गरेका हौं । यहाँबाट नेपाल फर्कन खोज्नेको सङ्ख्या ठूलो छ । दूतावासले उहाँहरुको चाहना पूरा गर्ने काम गरिरहेको छ ।

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा सबैभन्दा धेरै समस्यामा रहनुभएकाहरुलाई क्रमबद्ध रुपमा पठाएका छौं । र आगामी दिनमा पनि फर्कन चाहने र फर्कने दिन कुरिरहनुभएकालाई हामी पठाउने छौं ।  जति जना कुरिरहनुभएको छ, उहाँहरुलाई पनि चाँडै नै पठाउन हामी लागि परेका छौं ।

अब नेपाल सरकारले चाँडै नै नियमित उडान सुरु गर्दैछ । सरकारले उडान खोल्यो भने नेपालीहरुलाई सहज रुपमा नेपाल पठाउन सकिन्छ भन्ने विश्वास छ । यो बीचमा निकै समस्यामा पर्नुभएका, खान बस्नै समस्या भएका, गर्भवती, बिरामीहरु पनि घर फर्कनु भएको छ ।

अब नियमित उडानहरु हुन्छन्, त्यसबाट त झन छिटो हुने हामीले विश्वास लिएका छौं । अझ पनि कोही एकदमै समस्यामा हुनुहुन्छ भने दूतावासले सम्बन्धित एअरलाइन्ससँग समन्वय गरेर पठाउने छ । कोरोनाको प्रभाव नभएको समाज नभएको ठाउँ नै कहाँ छ र ? यहाँ त यूएई सरकारले राम्रो नियन्त्रण गरेको छ । ढिलो चाँडो यहाँको रोजगारीको बजारलाई पुरानै ढाँचामा लैजान्छ भन्ने मलाई लाग्छ । 

फर्कन चाहने धेरै र सीमित उडान हुँदा समस्या भएको हो

दुर्गाप्रसाद भण्डारी
राजदूत, कुवेत ।

कुवेतबाट अझै पनि विभिन्न कारणले फर्कन पर्नेको सङ्ख्या ४ हजारभन्दा माथि नै छ । 

झण्डै तीन हजार आममाफीमा सहभागी र बाँकी लगभग २८ सय जना चार्टर्ड उडानमार्फत यहाँबाट घर फर्कनुभएको छ । हामी अप्ठ्यारो परिस्थितिमा छौं । उडानहरु बन्द हुँदा चार्टर्ड उडानको सङ्ख्या सीमित छ । समस्यामा पर्नेहरुलाई छिटो घर फर्कन पाए हुन्थ्यो भन्ने छ । हप्तामा एक, दुई जहाज आउँछन् ।

तर यहाँबाट फर्कन पाए हुन्थ्यो भन्ने नेपालीको सङ्ख्या ठूलो छ । सङ्ख्या मात्र होइन, यहाँ केही साथीहरु साँच्चै समस्यामा पनि हुनुहुन्छ । त्यो भएकाले यो हतार पनि हो र समस्या पनि छ । सीमित सङ्ख्यामा उडान हुँदा ठूलो सङ्ख्यामा फर्कने भएकाले भनेको समयमा फर्कन नसक्दा समस्या देखिएको छ ।

पहिलो चरणमा १० हजार यात्रु नकट्ने गरी एक सय उडान नबढ्ने गरी ६ महिनाको योजना ल्याएको छ । यसबाट नेपाबाट पनि आवतजावत गर्न सहज हुनेछ । यसले आवतजावतमा सहज हुने आश छ । 

तर आगामी हप्ता पनि पाँच उडानहरु पाएका छौं । यहाँबाट त्यसबाट पनि धेरै जना त फर्कन पाउनुहुन्छ । त्यसपछि केही चाप पनि घट्नेछ विश्वास लिएका छौं । नियमित उडान भएमा यो समस्या समाधान हुनेछ भन्ने आश गरेका छौं । व्यवसायिक उडान सुरु भएमा समस्या समाधान हुनेछ र फर्कन खोज्ने नेपालीलाई सहयोग होला भन्ने हाम्रो आश छ । 

कुवेत सरकारले अगष्ट १ देखि नै व्यवसायिक उडान खोल्ने भनको छ । पहिलो चरणमा १० हजार यात्रु नकट्ने गरी एक सय उडान नबढ्ने गरी ६ महिनाको योजना ल्याएको छ । यसबाट नेपाबाट पनि आवतजावत गर्न सहज हुनेछ । यसले आवतजावतमा सहज हुने आश छ । 

काम पनि क्रमशः सुरु हुँदै गएकोे छ । कुवेत सरकारले पनि उपचारमा राम्रो गरिरहेका हुँदा र स्थिति क्रमशः सामान्य बनाउँदै गएकोले आत्तिनु पर्ने अवस्था छैन । अब नेपालमा बिदामा रहेकाहरु पनि फर्कन पाउनेछन् । त्यसकारणले अबको स्थिति सामान्य र सकारात्मक रुपमा अघि बढ्छ भन्ने अपेक्षा हामीले गरेका छौं ।

घर फर्कन कुर्नपर्ने समस्या छ, व्यवसायिक उडान खुलेपछि सहज हुन्छ

उदयराज पाण्डे
राजदूत, मलेसिया ।

कोरोना महामारीपछि समस्यामा पर्नुभएका पाँच हजारभन्दा धेरै फर्कनुभयो । अब पाँच, सात हजार नेपाल फर्कन चाहनेको सङ्ख्या छ । तर के हो भने यहाँ त यो सङ्ख्या बढिरहन्छ । दिनहुँ करार र भिसा सकिने त बढिरहेका हुन्छन् ।

यहाँ जम्मा अहिलेसम्म ११, १२ हजार जनाले घर फर्कन पाउँ भन्दै निवेदन दिनुभयो । त्यसमा पनि अब १० हजार मानिसले टिकट काट्न खोज्दा अहिलेसम्म पाँच हजार ४ सय ३१ मात्रै फर्किए भनेपछि त बाँकीले त कुर्न पर्‍यो । यो हप्ता १० वटा उडान हुँदैछ ।

१० वटै उडान भयो भने पनि १८ सय फर्कन्छन् । बाँकीले त फेरि पनि कुर्नैपर्छ । त्यसैले अब भदौदेखि उडानहरु खुल्ने कुरा छ । अब व्यवसायिक उडानहरु भयो भने स्वदेश फर्कन खोज्नेहरु आफूले चाहेको बेलामा फर्कन पाउनेछन् । अहिले टिकट पाइएन, घर जान पाइएन भन्ने समस्या पनि सकिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Madan Gharti

    July 29, 2020, 7:49 a.m.

    कतारको खबर नै आउँदैन / कतारमा अलपत्र परेका मा जस्ता धेरै छन् / दूतावासले नाम नै निकाल्दैन तर प्राथमिकतामा परेकालाई पठाउने भन्छ संधै , हामी चाहिं किन प्राथमिकतामा पारिएन / बिगत ४ महिनादेखि कोठामा नै बसेको छु / हाल कतार

  •  0 Reply

तपाईको प्रतिक्रिया