'जुम्लामा फोन लाग्छ तर कुरा बुझिँदैन, इन्टरनेट घुमिरहन्छ'

 साउन १४, २०७७ बुधबार १५:२३:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा टेलिफोन काटिने र इन्टरनेट स्लाे हुँदा उपभाेक्ता हैरान भएका छन् । लकडाउनपछि फोन काटिने, प्रस्ट आवाज नआउने समस्याले उपभाेक्ता हैरान भएका हुन् । साथै नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।  

सदरमुकाममा समेत मोबाइलमा आवाज प्रस्ट नसुनिने उपभाेक्ताकाे गुनासाे छ । स्थानीय राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताउनुभयो । 

मोबाइलमा नम्बर डायल हुने तर कुरा गर्न नपाउँदै पैसा मात्रै काटिने समस्याले हैरान भएकाे उपभाेक्ताकाे गुनासो छ । 

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै जाँदा र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि प्रदेश कार्यालयलाई समेत पत्राचार गरिएको छ । 

एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले जतिसक्दो चाँडो पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

ट्रान्समिसन लिङ्क साँघुरो भएकाले क्षमता बढाउनु पर्ने अवस्था आएको छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेट स्लाे हुँदा उपभाेक्ता समस्यामा परेका छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको उनीहरुकाे भनाइ छ । 

इन्टरनेट स्लाे हुँदा बैंक तथा वित्तीय संस्थाका कामदेखि 'ई प्रणाली' बाट गरिने आर्थिक कारोबारसमेत प्रभावित हुने गरेको छ । गाउँपालिकामा पनि समस्या उस्तै छ। 

इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । इन्टरनेटका कारण असारकाे महिनामा काम गर्दा तनाव बेहाेर्नु परेकाे कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो पोख्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया