उपभोक्ता समिति र बिल दुवै नक्कली, गाउँपालिकाले दियो १० लाख रुपैयाँ भुक्तानी !

 साउन १४, २०७७ बुधबार १७:५१:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – नक्कली बिलको आधारमा पूर्वीचौकी गाउँपालिकाले दश लाख रकम भुक्तानी दिएको भन्दै अहिले चर्को विरोध सुरु भएको छ । गाउँपालिकाले गएको आर्थिक वर्षमा ‘दलितहरुको स्तर अभिवृद्धि कार्यक्रम’ को लागि विनियोजन गरेको दश लाख रकम समिति तथा बिल दुवै नक्कली बनाएर भुक्तानी गरिएको भन्दै दलित अगुवाहरु आक्रोशित बनेका छन् । 

पूर्वीचौकी गाउँपालिका ३ का साजेन्द्र कोलीको अध्यक्षतामा ‘दलित क्षमता विकास उपभोक्ता समिति’ गठन गरी सात सदस्यीय उपभोक्ता समिति गठन गरेको नक्कली कागजात देखाइ गाउँपालिकाले रकम भुक्तानी दिएकाले विरोध गरिएको गाउँकार्यपालिका सदस्य स्मृति चुनाराले बताउनुभयो ।

गाउँपालिकामा उपभोक्ता समितिको प्रस्तावना जेठ १४ गते स्वीकृत भएर काम थालनी गरेको कागजात पेस भएको पाइएको छ । यतिमात्र नभइ किर्ते कागजातको भरमा रकम पनि भुक्तानी गरिएको भन्दै स्थानीयबासी आक्रोशित बनेका हुन् । पूर्वीचौकी गाउँपालिका ५ की वडा सदस्य माहा दमाईको अध्यक्षतामा बैठक बसेको गाउँपालिकामा कागजात देखाइएको भए पनि आफ्नो अध्यक्षमा त्यो बैठक नबसेको वडा सदस्य दमाइको दाबी छ ।

वडा सदस्य दमाईले आफूलाई गाउँपालिकामा पेस गरिएका कागजात र माइन्युटलगायत त्यो बैठकबारे कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठक बसेको भए मलाई थाहा हुनुपर्ने हो चर मलाई थाहा नै छैन् । कसले किन र कहिले त्यो कागजात बनायो, म पनि अचम्मित परेकी छु ।’ 

तर वडासदस्य दमाईको अध्यक्षतामा बैठक बसी पूर्वीचौकी गाउँपालिका ३ का साजेन्द्र कोलीलाई ‘दलितहरुको स्तर अभिवृद्धि कार्यक्रम’ को अध्यक्ष बनाइ सात सदस्यीय उपभोक्ता समिति गठन गरेको देखाइएको छ । 

उपभोक्ता समितिको अध्यक्ष बनाइएका कोली पालिकाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बन्नु भएको थियो । उपभोक्ता समितिको कोषाध्यक्षमा साजेन्द्रकी श्रीमती हेमन्ताकुमारी विक र सचिवमा काकाको छोरा हर्क कोलीलाई राखिएको देखिएको छ । 

गाउँपालिकामा पेस गरिएको बिलमा उपभोक्ता समितिले दिपायल पिपल्लामा रहेको न्यू चाँद ट्रेडर्स एण्ड सप्लायर्सबाट सामग्री खरिद गरेको देखाएको भए पनि आफूहरुले सामान अर्डर गरेको तर अहिलेसम्म कुनै सामग्री नलगेको जनाएका छन् । बिलमा दुई सय वटा त्रिपाल, १० रोल पी–फम, दुई सय वटा कम्मल, दुई सय वटा डसना लेखिएको छ । जसको कुल रकम भ्याटसहित सात लाख ३९ हजार पाँच सय ७३ रुपैयाँ उल्लेख गरिएको छ । 

यतिमात्र नभइ सामग्री खरिद गर्न आएका बेला जिल्ला सदरमुकाम सिलगढी बसेको भनेर होटल बासमा होटल लर्ड बुद्धको २० हजार ४० रुपैयाँको बिल पेस गरिएको छ । जहाँ एसीसहितको कोठामा चार दिन बस्दा दिनको तीन हजारका दरले १२ हजार रुपैयाँ उल्लेख गरिएको पाइएको छ । 

यस्तै चिकेन खानाको प्रति सेट पाँच सय रुपैयाँ उल्लेख गरिएको छ । होटल लर्ड बुद्ध नामको बिल पेस गरिएको भए पनि अहिले जिल्ला सदरमुकाम सिलगढीमा त्यो होटेल सञ्चालनमा नभएको स्थानीयबासी बताउँछन् । पहिले सञ्चालन भएको घरमा अहिले ओम गेस्ट हाउस सञ्चालनमा रहेको सिलगढीका स्थानीय सन्तोष केसीले जानकारी दिनुभयो । ओम गेस्ट हाउसमा एसीसहितको कोठाको व्यवस्था नभएको बताइएको छ ।

त्यस्तै गाडीमा आउजाउ गर्दा चार पटकको प्रतिपटक (प्रतिदिन) २० हजारका दरले ८० हजार रुपैयाँको भरपाइ पेस गरिएको पाइएको छ । तर डोटीमा बोलेरो जीपले दैनिक इन्धन हालेर चार हजारमै सेवा दिइरहेको शैलेश्वरी यातायात व्यवसायी समितिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

साथै कार्यक्रम कार्यान्वयनका लागि गएको असार २३ गते ‘अतिथि अनुगमन’ गराएको भनेर कागजात पेस गरिएका छन् । जसमा उल्लेख गरिएका व्यक्तिहरु आफ्नो दस्तखत नक्कली रहेको दाबी गरिरहेका छन् । 
गाउँपालिकाका कम्प्युटर अपरेटर लक्ष्मणबहादुर खड्काले अनुगमन गरेको भनेर आफ्नो नाम उल्लेख गरिएको भए पनि त्यसमा आफू संलग्न नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यक्रम अनुगमनबारे मलाई कुनै जानकारी छैन, त्यसमा भएको दस्तखत पनि मेरो होइन, कागजात बनाउने र खेल्ने नै जानून् ।’ 

त्यसैगरी उपस्थितिमा हाजिरी देखाइएका गाउँपालिका ३ का वडाध्यक्ष अमरबहादुर चयडाले पनि आफू अनुगमनमा नगएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म त्यो बेला अनुगमनमा गएको थिइँन । कसले, किन मेरो नाममा दस्तखत गरेँ, म आश्चर्यमा छु ।’

त्यही अनुगमनमा खाना र खाजा खर्च भनेर १३ हजार तीन सय रुपैयाँ बढी खर्चसहितको बिला देखाइएको छ । 

गाउँपालिकाका अध्यक्ष दीर्घबहादुर बोगटीले नक्कली भनिएको उपभोक्ता समिति र बिलको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने बताउनुभयो । 

नक्कली बिल बनाएर रकम भुक्तानी भएको भन्दै स्थानीय दलित अगुवाहरुले सोमबार विरोध प्रदर्शनसहित गाउँपालिका घेराउ गरेका थिए । 

स्थानीयको विरोधपछि भुक्तानी भएको रकम गाउँपालिकामा फिर्ता माग्ने सहमति भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पत्र काटेर रकम गाउँपालिकामा फिर्ता गर्न भनिसकेका छौँ, रकम तत्कालै फिर्ता आउने छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया