काठमाण्डौमा किलोको १ सय रुपैयाँ घटी तरकारी पाइँदैन, दाेब्बरदेखि तेब्बरसम्म भाउ बढ्यो

उपत्यका आसपासका किसानलाई फाइदा

 साउन १४, २०७७ बुधबार १९:५६:५७ | दीपा तिमल्सिना
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कलङ्कीको मुख्य चोकको छेउतिर सीतामाया तामाङ तरकारी बेच्दै हुनुहुन्छ । 'एक मुठा साग (पालुङ्गो) को कति ?', तरकारी किन्न आएका उपभोक्ता सोध्छन् ।

तामाङ जवाफ दिनुहुन्छ : ‘५० रुपैयाँ ।’ 

‘आम्मामा यति सागको ५० रुपैयाँ ?’ उपभाेक्ता प्रति प्रश्न गर्छन्  ।

तामाङ रायोको सागको मुठातिर देखाउँदै सजिलै जवाफ दिनुहुन्छ – ‘रायोको साग त ५० रुपैयाँ छ, यो त पालुङ्गो ।’ 

उपभोक्ता तरकारी नकिनिकन नै फर्किन्छन् । 

लकडाउन हटेपछि सीतामायाले तरकारीको व्यापारलाई निरन्तरता दिनु भएको छ । झरी उघ्रिएको बिहान भएकाले व्यापार होला भन्ने आशाले उहाँ बिहान सबेरै व्यापारका लागि पुग्नु भएको थियो । केही मुठा साग, केही किलो स्कुस, तने बोडी र केही हरियो भटमास र मकै बोडी । अरु धेरै थिएनन् । 

तर थोरै थोरै राखेको यो तरकारी पनि बेच्न उहाँलाई मुस्किल परेको छ । धेरै उपभोक्ता मूल्य सोधेर महँगो भन्दै फर्किने गरेका छन् । 

उहाँ जस्तै डोको र सडकको छेउछाउमा बिहान/बेलुका तरकारी बेचेर जीवन चलाउनेलाई मात्र होइन अहिले उपभोक्तालाई पनि बाँच्न मुस्किल जस्तै भएको छ ।

तरकारीको भाउ दोब्बरदेखि तेब्बरसम्मले बढेपछि के खाने र कसरी जीविका चलाउने भन्ने चिन्ता बढेको छ । 

तरकारीको मूल्य दोब्बरदेखि तेब्बरसम्म बढ्यो 

गएको असार १ गतेको तुलनामा अहिले काठमाण्डौको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । 

असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको गोलभेँडा अहिले ५५ देखि ६३ रुपैयाँ पुगेको छ । 

यस्तै किलोको ३२ देखि ३४ रुपैयाँ रहेको रातो आलु अहिले ६८ देखि ७० रुपैयाँ पुगेको छ । तने बोडी किलोको २० रुपैयाँबाट एक सय रुपैयाँ पुगेको छ भने सिमी ३० देखि ३५ रुपैयाँबाट किलोको ९५ देखि एक सय रुपैयाँ पुगेको थोक व्यापारी भगवान चन्द्र उप्रेतीले बताउनुभयो ।

यो भाउ खुद्रामा पुग्दा अझ महँगो हुन्छ । खुद्रा व्यापारीले ढुवानी, सटर भाडा, ज्यालालगायतलाई जोडेर थोक मूल्यमा किनेको भन्दा दोब्बर मूल्यमा तरकारी बेच्ने गरेका छन् ।

उपभोक्ताले तने बोडी किलोमा दुई सय रुपैयाँसम्म तिरेको बताएका छन् ।

लगातारको झरी र बाढी पहिरोका कारण तरकारी महँगियो

असार महिनामा सामान्य बढेको तरकारीको मूल्य साउन लागेपछि किनि नसक्नु भएको छ ।  काठमाण्डौ उपत्यकामा तरकारीको मूल्य अहिले दोब्बरदेखि तेब्बरसम्मले बढेको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनमा १०/१५ रुपैयाँ किलोमा पनि नबिकेको तरकारी अहिले किलोको एक सय रुपैयाँ र योभन्दा माथिसम्म पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

खुद्रा बजारमा अहिले एक सय रुपैयाँभन्दा कममा तरकारी नै पाइँदैन । ‘थोक बजारमा नै तरकारी महँगो छ, खुद्राको त कुरै भएन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले भन्नुभयो ।

लकडाउनका बेला धेरैले उपत्यका छोडेका, होटल, खाजा घर, रेस्टुरेन्ट बन्द रहेका लगायतका कारणले उपत्यकामा तरकारीको खासै माग थिएन । कोरोनाको जोखिमको सुरुका दिनमा धेरै घरबाहिर ननिसक्दा पनि तरकारीको माग घटेको थियो । 

जब लकडाउन खुकुलो हुँदै गयो, गाउँ घरबाट उपत्यका आउनेहरु पनि बढे । होटल, रेस्टुरेन्ट पनि खुल्न थाले, कार्यालयहरु खुले । मानिसहरु घरबाट बाहिर निस्कन थाले । यसले तरकारीको माग बढायो । 

तर बाढी पहिरो र लगातारको झरीले तरकारी बालीमा नोक्सानी पुग्दा मागअनुसार आयात भएन । केही ठाउँमा बाढी पहिरोले सडक भत्काउँदा तरकारीको ढुवानी रोकियो । परिणाम मूल्य तेब्बरसम्म बढ्यो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार अहिले दैनिक ६/७ सय मेट्रिक टन तरकारीको माग छ । तर आयात ४/४ सयमात्र छ । यी तरकारी कालीमाटी थोक बजारबाट झिसमिसे उज्यालो हुँदा नहुँदै बिक्री भइ सक्छ । 

कालीमाटी थाेक बजारमा राति दुई/तीन बजेरितबाटै तरकारीको कारोबार सुरु हुन्छ । बिहान ६/७ बज्दा त सबै तरकारी सकिने श्रेष्ठले बताउनुभयो । 

लकडाउनमा मारमा परेका केही किसानलाई राहत

काठमाण्डौ उपत्यकासँग जोडिएका जिल्लाबाट अहिले सजिलै तरकारीको आयात भइरहेको छ । तरकारीको अभाव भएकाले किसानले पनि राम्रै भाउ पाइरहेका छन् । तरकारीको भाउ राम्रो पाउँदा लकडाउनमा घाटा र नोक्सानी ब्यहाेर्ने किसानलाई केही राहत मिलेको छ ।   

धादिङका अगुवा किसान श्यामचन्द्र आचार्य भन्नुहुन्छ, ‘अहिले खेतबारीमा नै राम्रो पैसा पाइरहेका छौँ ।’ उहाँका अनुसार अहिले काँक्रो मात्रै सस्तो छ । व्यापारीले किलोको १० देखि १५ रुपैयाँ दिन्छन् । अरु तरकारी भने किलोमै ५० रुपैयाँभन्दा माथि नै छ । 

सिमी ७५ देखि एक सय रुपैयाँ छ । साग पनि एक किलोको एक सय रुपैयाँ, कर्कलो मुठाको १० देखि १५ रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ र भिण्डी किलोको २५ देखि ३५ रुपैयाँमा खेतबारीबाट बेचिरहेको आचार्यले सुनाउनुभयो । 

काठमाण्डौ उपत्यकासँग जोडिएका ठाउँका किसानले यति बेला तरकारीबाट राम्रै कमाइ गरिरहेका छन् । तर उपत्यकाभन्दा टाढाका जिल्लाबाट भने तरकारी ल्याउन मुस्किल भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार अहिले ८० प्रतिशत हरियो ताजा तरकारी स्वदेशी उत्पादनले नै धानेको छ  । तर सबै ठाउँबाट तरकारी ल्याउन नसक्दा भाउ बढेको समितिले जनाएको छ । 

समितिका सूचना अधिकृत विनय श्रेष्ठ भन्नुहुन्छ, ‘असार महिनाको अन्तिम हप्तादेखि देशका धेरै ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण तरकारीको आयात कम भयो, यसले गर्दा भाउ बढ्न गएको हो ।’

यतिबेला तरकारी उत्पादनको सिजन नभएकाले मूल्य वृद्धि भएको उहाँको भनाइ छ ।   

काठमाण्डौको बजारमा आलु र सुकेको प्याज भने भारतबाट आयात हुन्छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया