सानेपामा पौडेल पक्षको भेला : विभाग विस्तारको काम रोक्न आग्रह

 साउन १४, २०७७ बुधबार १९:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीकाे विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय सानेपामा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरीत विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुको आग्रह छ ।

भेलामा कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताउनुभयो । महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध अझ सशक्त भएर अगाडि बढ्न बुधबारकाे बैठक बोलाइएको उहाँले बताउनुभयो । आउँदाे महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको उल्लेख गर्दै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनुभयो । 

यस्तै केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरीत अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको उहाँले बताउनुभयो । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको बताउनुभयो । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उहाँको भनाइ छ । 

पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठनलगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया