खेलकुद क्षेत्रलाई विश्वले हेर्ने गरी आकर्षित रुपमा अघि बढाउँछु : सदस्य सचिव सिलवाल

 साउन १४, २०७७ बुधबार २०:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा राखेपको १९ औँ सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको खेलकुद जगतलाई विश्वले हेर्ने गरी आकर्षित रुपमा अगाडि बढाउने छु ।’ खेलकुदलाई खेलकुदका रुपमा मात्रै सीमित नगरि यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उहाँले बताउनुभयो ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।

सपथलगत्तै पद बहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पुग्नुभएको थियो । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया