धेरै श्रमिक समस्यामा रहेका देशमा उडान सङ्ख्या बढाउन राजदूतको माग

 साउन १५, २०७७ बिहिबार ८:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घर फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भएको ठाउँमा उडान सङ्ख्या बढाइदिन राजदूतहरुले माग गरेका छन् ।

अहिले कोरोनाको कारण रोजगारी गुमाउने र अन्य विभिन्न कारणले घर फर्कन पर्नेहरु धेरै रहेका देशमा उडान सङ्ख्या बढाइदिए स्वदेश फिर्ती सहज हुने साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताउनुभयो।

साउदी, यूएई, कुवेत, कतारजस्ता देशमा समस्यामा परेर घर फर्कन खोज्नेको सङ्ख्या धेरै भएको भन्दै राजदूत सिंहले यस्ता देशमा उडानको सङ्ख्या बढाइदिए घर फर्कन खोज्नेहरु समयमै फर्कन पाउने र टिकट नपाएको गुनासो पनि नरहने बताउनुभएको हो ।

‘हामीसँग दुईटा जहाज छन्, सीमित जहाज र सीमित सिट संख्या हुँदा फर्कन खोज्नेहरु सबै भनेको समयमा जान पाएका छैनन्,’ राजदूत सिंह भन्नुहुन्छ, ‘सरकारले फर्कन खोज्ने नेपाली धेरै रहेका ठाउँमा उडानको सङ्ख्या बढाइदिने हो भने हामी फर्कन खोज्ने सबैलाई पठाइदिन्छौं ।’

साउदीबाट घर फर्कने चाहना राख्दै १७ हजार जनाले दूतावासमा फारम बुझाएका थिए । त्यसमध्येबाट प्राथमिकताको आधारमा दूतावासले ११ हजार ५१५ जनाको सूची प्रकाशित गरेको छ । उनीहरु घर फर्कन पर्ने अवस्थाका श्रमिक हुन् ।

तर साउदीबाट अहिले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले मात्र चार्टर्ड उडानमार्फत नेपाली श्रमिकलाई ल्याइरहेका छन् । दुई जहाजमार्फत मात्र स्वदेश फिर्ती हुँदा फर्कन खोज्ने सबैले भनेकै समयमा फर्कन पाएका छैनन्।

गएको जेठ ३२ गतेदेखि भएको स्वदेश फिर्तीको प्रक्रियामार्फत अहिलेसम्म साउदीबाट पाँच हजारभन्दा धेरै जना त फर्किएका छन् । तर समस्यामा परेका झण्डै ६ हजार जना अझै घर फर्कने दिनको प्रतिक्षामा छन् । दूतावासहरुले अनलाइन र अन्य विभिन्न माध्यममार्फत समस्यामा परेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरिरहेका छन् ।

जसमध्ये सबैभन्दा धेरै यूएईबाट फर्कन खोज्नेको सङ्ख्या छ । यूएईबाट मात्रै फर्कन खोज्ने नेपालीको सङ्ख्या ४५ हजारभन्दा माथि छ । दूतावासहरुसँग तथ्याँक र विवरण भएकाले स्वदेश पठाउन कुनै समस्या छैन । तर कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुनु र स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु हुँदा फर्कन खोज्नेहरु सबैलाई तत्काल पठाउन समस्या भइरहेको छ भने श्रमिकहरु दूतावासको सूचीमा नाम आए पनि घर फर्कन नपाएको गुनासो गरिरहेका छन् ।

‘धेरैले सोध्नुहुन्छ, गुनासो पनि छ, तर सिट सङ्ख्या नै सीमित छ, त्यही अनुसार हामीले त सबैलाई जवाफ दिनैपर्छ, दिनमा सयौं टेलिफोन आउँछन्,’ राजदूत सिंह भन्नुहुन्छ,‘ हामी एक दिन पनि काम नगरी बसेका छैनौं, श्रमिक दाजुभाइकै लागि खटिएका छौं, तर जहाजको कुरा हाम्रो काबुभन्दा बाहिरको कुरा हो, सकेजति हामीले गरिरहेकै छौं ।’ दूतावासको सूचीमा नाम आएकाहरुलाई घर जान पाइएन भनेर नआत्तिन पनि राजदूत सिंहले अनुरोध गर्नुभएको छ ।

अब भोलि जुलाई ३१ देखि फेरि एक हप्तासम्म चार्टर्ड उडान हुने र त्यसमार्फत पनि धेरै जना स्वदेश फर्कन पाउने भएकाले अब आत्तिन नपर्ने उहाँको भनाइ छ । दूतावासको सूचीमा नाम आएपछि काठमाण्डौ विमानस्थलमा नओर्लंदासम्म त्यो नाम घर फर्कनेको सूचीमा रहन्छ ।

अहिले साउदीले भिसा, अकामा लगायतको म्याद सकिएकालाई समयमा घर नफर्के जरिवाना गर्ने भनेको छैन । थप तीन महिना भिसाको म्याद थपिदिएको छ । अकामा नवीकरण लगायतका कारणले अवैधानिक भएकालाई पनि दूतावासले नै साउदी सरकारसँग पहल गरेर कानुनी रुपमा नै स्वदेश फिर्तीका लागि पहल गरिरहेको छ ।

दूतावासको पहलमा एक्जिट भिसा पाएकाहरु ६० दिनभित्र साउदी छोड्न सक्नेछन् । त्यसैले यो महामारीको समयमा आत्तिएर भन्दा पनि धैर्य गरेर सुरक्षित रहन राजदूत सिंहले आग्रह गर्नुभएको छ । यस्तै कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले पनि अहिले उडान सङ्ख्या सीमित र घर फर्कन खोज्ने धेरै हुँदा समस्या भएको भन्दै उडान सङ्ख्या धेरै भए यो समस्या समाधान हुने बताउनुभएको छ । कुवेतबाट फर्कन खोज्ने १० हजारभन्दा माथि छन् ।

जसमध्ये ५ हजारभन्दा धेरै त फर्किएका छन् । अझै पनि ५ हजारजना स्वदेश फर्कने दिनको प्रतिक्षामा छन् । तर उडान सीमित हुँदा फर्कन खोज्नेहरुले पालो कुर्नुपर्ने अवस्था छ । त्यसैले टिकट नपाएको गुनासो आइरहेको उहाँको भनाइ छ ।

‘यो महामारीको बेलामा सबैलाई चाँडै घर जान पाए हुन्थ्यो भन्ने छ, तर उडानहरु सीमित हुँदा चाहेकै बेलामा पठाउन सक्ने अवस्था छैन,’ राजदूत भण्डारी भन्नुहुन्छ, ‘उडानहरु नियमित हुने हो भने यो समस्या समाधान हुने थियो ।’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि नियमित उडान भए अहिले देखिएको टिकट नपाउने र घर फर्कन कुर्नपर्ने समस्या समाधान हुने बताउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया