कोशी अस्पतालकाे ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

 साउन १५, २०७७ बिहिबार १५:२१:५१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – कोशी अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोनाको सङ्क्रमण देखिएपछि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सेवा अनिश्चितकालका लागि बिहीबारदेखि बन्द गरिएको छ ।

अस्पतालका ओपीडी इन्चार्ज र कार्यालय सहयोगी गरी चार जनामा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्द गराएको जनाएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै बिरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि समस्या देखिएको छ ।

अस्पतालमा औषधि छर्किएर स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुञ्जेलसम्मको लागि ओपीडी सेवा बन्द गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट मेसु डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।

यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो । लकडाउनको बीचमा पनि अस्पतालमा दैनिक ६ सय बढी बिरामी आउने गरेका थिए । अन्य अस्पतालले कोरोनाको बहानामा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सञ्चालन गरेको थियो ।

ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन । अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक बिरामीलाई मात्र गेटबाट छिर्न दिइएको छ ।

सङ्क्रमितको सम्पर्कमा आएका १४ जनामध्ये दुई जनालाई होम क्वरेण्टीन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया