रुकुम पश्चिम : ठेकेदार कम्पनीका कर्मचारी अपहरणमा

 साउन १५, २०७७ बिहिबार २०:३९:५१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा सडक निर्माणको काममा खटिएका निर्माण कम्पनीका एक जना कर्मचारी नचिनेका मानिसकाे समूहकाे अपहरणमा परेका छन् । सिस्ने हिमाल बिल्डर्स निर्माण कम्पनीमा साइट इन्चार्ज पदमा कार्यरत सन्देश भनेर चिनिने गोरखबहादुर पुन अपहरणमा परेकाे कम्पनीका प्रमुख हरिश चन्दले बताउनुभयो । 

तीन दिनदेखि सम्पर्कविहीन रहेका पुनले बिहीबार बिहान आफूलाई नचिनेका मानिसकाे समूहले अपहरण गरेर गोतामकोट भन्ने ठाउँमा पुर्‍याएकाे भन्दै कम्पनीका निर्देशक कुमार हमाललाई फोन गरेको कम्पनीले जनाएको छ । उनीहरुले पुनसँग ३० लाख रकम फिरौती माग गरेको कम्पनीले जनाएको छ । अपहरणमा परेका पुन आठबीसकोट नगरपालिका ३ को खदीमा निर्माणाधीन सडकखण्डको कामकाे साइटमा खटिएका थिए । 

पुन आठबीसकोट नगरपालिका ३ काे खदीबाट अपहरणमा परेकाे सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अपहरणको सूचना प्राप्त हुनासाथ घटनाको आधिकारिकता बुझ्न र पुनकाे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

'प्रहरीको अपरेशन व्यापक पारिएको छ', डीएसपी केसीले भन्नुभयो, ‘स्थानीय र जिल्लाका युनिटबाट प्रहरी सम्भावित स्थानतर्फ पुगेर खोजी कार्य तीव्र पारिएको छ ।’   

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया