जिल्ला समन्वय समितिकाे जग्गा अतिक्रमण गरी पक्की घर

 साउन १६, २०७७ शुक्रबार २०:११:२५ | रासस
unn.prixa.net

तनहुँ – जिल्ला समन्वय समितिका नाममा रहेका विभिन्न क्षेत्रका गरी झण्डै ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ ।

व्यास नगरपालिका ३ बीसघरे, देउराली नगरको सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । 

तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको जग्गा वर्षौ अघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।

सदरमुकाम दमौलीमा रहेको त्यस जग्गाको मूल्य उच्च भए पनि अतिक्रमणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

पहिलेकाे फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी ६ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौंअघि देखि अतिक्रमणमा परेको छ ।

त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ ।

विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।  

अहिले एक सय ८४ व्यक्तिले अनधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन् । समितिले अन्य ठाउँका केही जग्गा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाएको जनाएको छ । अन्य ठाउँमा अतिक्रमणमा परेको जग्गाको पनि तथ्याङ्क निकाल्ने कार्यको सुरुवात गर्न लागिएको समितिकी उपप्रमुख पवित्रा पौडेलले जानकारी दिनुभयो ।

व्यासका वडा नम्बर २ र ३ अन्तर्गत समितिको जग्गामा बनाइएका ९५ शटरबाट भने वार्षिक रुपमा झण्डै एक करोड रुपैयाँ आम्दानी हुँदै आएको छ । 

यो शटरबाट गएको वर्ष ९९ लाख १८ हजार रुपैयाँ आम्दानी भएको र यो वर्ष भाडाबापत ८६ लाख रुपैयाँ आम्दानी भएको उपप्रमुख पौडेलले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया