महोत्तरीमा १९ लाख बढी रकमसहित २ जना पक्राउ

 साउन १६, २०७७ शुक्रबार १८:२५:११ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको जलेश्वरबाट प्रहरीले १९ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका १ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामेश्वर यादव रहेका छन् ।

महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका २ जीरोमाईलमा जाँच गर्ने क्रममा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको यादव सवार प्रदेश २, ०२, ००१ प ०४८८ नम्बरको मोटरसाइकलबाट साे रकम बरामद गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट १ हजारका १,६७५ थान नोट र ५ सयका ५५० थान नोट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । बरामद भएको रुपैयाँ र पक्राउ परेको माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

यसैबीच, महोत्तरी प्रहरीले शुक्रबार दिउँसो लागुऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जलेश्वर नगरपालिका ३ छडकीमा जाँच गर्ने क्रममा भारत बिहार राज्य सितामढी जिल्ला श्रीखण्डी भिटठाका २५ वर्षका कृष्णा दासलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियमित जाँचको क्रममा दासको साथबाट लागुऔषध एक्सिप्लान २० बाेतल बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेको दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया