कोरोनाको त्रासमा आशा जगाउने गाईजात्रा

 साउन १७, २०७७ शनिबार १०:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाका कारण जताततै त्रास छ ।

ठप्प भएका व्यापार व्यवसाय चलमलाउन थाले पनि अझै लय लिन सकेका छैनन् । सबै पेशा र वर्गका मान्छे कोरोनाको कारण अप्ठ्यारोमा छन् । हास्य-व्यङ्ग्य कलाकारहरु पनि कोरोनाको मारमा छन् ।

कोरोनाको कारण यसवर्ष गाईजात्रा हुने नहुने अन्योल भैरहेको बेला कलाकारहरुले फरक ढंगले गाईजात्राको प्रस्तुति थालेका छन् । अघिल्ला वर्षहरुमा हलहरुमा हुने गाईजात्राको प्रस्तुति यसवर्ष टेजिभिजनमार्फत सुरु भएको हो । 

कलाकारहरुले यस वर्षको प्रस्तुतिलाई (कोभिड-१९) को त्रास र पीडाबीच आशा र हौसलाको कोसेली ( २०७७ सालको गाईजात्रा) नाम दिएका छन् ।

एपीवान टेलिभिजनमा साउन १५ गतेदेखि सुरु भएको गाईजात्रा २२ गतेसम्म चल्ने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो । गाईजात्रामा दुई दर्जनभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् । गजुरेलसँगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी, धुर्मुस सुन्तली, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, सुमन कार्की, शिवशंकर रिजाल, रवि डंगोल, यमन श्रेष्ठ,  चट्याङ मास्टर, लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले समसामयिक विषयमा प्रस्तुति प्रस्तुत गर्नेछन् ।

कमेडी च्याम्पियनका नयाँ कलाकारहरुसँगै गायक पशुपति शर्मा, गायिका बबिता बानियाँको पनि प्रस्तुति रहने गजुरेलले जानकारी दिनुभयो । हरेक वर्ष भिन्नाभिन्नै रुपमा देखिँदै आएका मनोज गजुरेलले यस वर्षको गाईजात्रामा  विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस, नेकपाका दुई पाइलट अर्थात अध्यक्षमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अवतारमा देखिँदै हुनुहुन्छ । 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया