स्थानीयको अवरोधका बीच पर्साका तीन जना कोराना सङ्क्रमितको शव व्यवस्थापन

 साउन १७, २०७७ शनिबार १३:५२:३३ | केसी लामिछाने
unn.prixa.net

काठमाण्डौ - स्थानीयको अवरोधका बीच पर्साका तीन जना कोराना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ ।

वीरगञ्ज महानरपालिका-३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच शव व्यवस्थापनको विषयमा झडप भएको थियो ।

झडपकै बीच गएराति अबेर सुरक्षाकर्मीले कोरोनाका कारण ज्यान गुमाएका तीन वटा शवलाई वीरगञ्ज महानगरपालिकाको उत्तरमा रहेको जंगलमा लगेर  व्यवस्थापन गरेका हुन् । शव व्यवस्थापन गर्न लैजाने क्रममा भिड हटाउन प्रहरीले ६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायर गरेको थियो । स्थानीयले  प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । 

झडपमा प्रहरीतर्फका ८ जना घाइते भएका छन् । घाइते प्रहरीको उपचार चलिरहेको र केही दिन आराम गर्नुपर्ने भएको प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भयो । पन्त स्वयंलाई पनि सामान्य  चोट लागेको छ । 

हिजो बेलुका ७ बजेतिर जीतपुर बजारका स्थानीय जम्मा भएपछि झडप सुरु भएको थियो । मोबाइलमार्फत मिलनचोक आसपासका नागरिकलाई सुरक्षाकर्मीको प्रतिवाद गर्नका लागि मिलनचोकमा आउन सूचना प्रवाह भयो । एकैछिनमा सयौँ मानिसको सहभागिता भयो। शोलखपुर, मिलनचोक कटगेनवा लगायतका गाउँबाट मिलनचोकमा मानिसहरु जम्मा भएका थिए ।

स्थानीयले कोरोना सङ्क्रमणका कारण ज्यान गएकाहरुलाई आफनो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान लिएर प्रहरीलाई अवरोध गरेका  थिए । 

यद्यपी स्थानीय प्रशासनले भने शव लैजानुभन्दा पहिला राजनीतिक दल, समाजिक अगुवा सबैसँग छलफल गरेर शव व्यवस्थापन गर्ने वातावरण बनाएको थियो । मिलनचोकबाट उत्तरतिरको जंगलतर्फ जाने बाटो खराब भएकाले पहिला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने र पछि नेपाली सेनाले शव लाने पूर्व तयारी भएको थियो । 

तर स्थानीयले भने घाँस दाउरा गर्न जंगल जानु  पर्ने वस्तु भाउ चराउन जंगल जाँदा कोरोना भाइरसको सङ्क्रमण फैलने डरका कारण शव व्यवस्थापन  गर्न अवरोध सृजना गरेका हुन । 

अस्ति वीरगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण  तीन जनाको ज्यान गएको थियो ।  जगदम्बा इन्टर इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज-१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया