सुनको भाउ तोलाको झण्डै एक लाख

 साउन १८, २०७७ आइतबार १०:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । 

आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । 

उहाँकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया