कोरोनाका कारण उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

 साउन १८, २०७७ आइतबार १२:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । 

गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै काेराेना सङ्क्रमित थपिएका छन् ।

यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ । भारतको कर्नाटकमा १ सय १० वर्षकी वृद्धा, कोरोना सङ्क्रमणपछि निको हुनुभएको छ । गएको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी कर्नाटकको चित्रदुर्गकी १ सय १० वर्षकी वृद्धा निको भएपछि हिजो डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

यसैबीच भारत सरकारले भेन्टिलेटर निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाउँदै भेन्टिलेटर निर्यातमा लागेको प्रतिबन्ध हटाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया