खाडीबाट परदेशीको कविता : गणतन्त्रले दिएको उपहार

 साउन १८, २०७७ आइतबार १६:५९:६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

गगनसिंह बिष्ट/दार्चुला, हाल कुबेत​

देश बदल्न, सामाज बदल्न 
र मान्छेको मन बदल्न
हिँडेको मान्छे म
पछुताउँदैछु आज 
गणतन्त्र उपहार पाएर ।

सम्झिंदैछु विगतका ती दिनहरु
हँसिया हथौडाको झण्डा बोक्दै
मुक्तिका नारा लगाउँदै
क्रान्तिकारी धुन बजाउँदै 
देशको मुहार फेर्न लागेकाहरुका
शरीरभरिका गोलीका छर्राहरु सम्झिंदै 
टोलाइ रहेछु आज
पाएर उपहार  गणतन्त्र ।।

मनभित्र मनहरु खेलाउँदै बसेको छु आज 
एक छाक खान नपाएर 
सडकमै मरेको मानवीरे सम्झेर
खुलेआम बलात्कार भएकी 
चेलीको पीडा देखेर 
परदेशी दाजुभाइ
ठगिरहेको बजारको नाङ्गो नाच हेरेर
खाडीमा टिकट काट्न नसकेर
आत्महत्या गर्ने भाइको कथा सुनेर
म गणतन्त्रको उपहार सम्झिरहेछु ।।

प्रेम गर्न जातले छेकेको देख्दा
मन पराउँदैमा मरेको देख्दा
आजभोलि
मनले मुटुसँग सम्झौता गर्दैन 
यसैको लागि क्रान्ति गरेका
कमरेडहरुले नै 
आज तल्लो जातको भन्दै सम्बन्ध टुटाएको देख्दा 
लाग्छ, कसरी गरे होलान् क्रान्ति ?
परिवार बनाउन नसक्नेले देश बनाउनको लागि क्रान्ति !
बहकिंदै छु आज 
गणतन्त्रको उपहार अङ्गालेर ।।

पुस्ताको जिन्दगी बदल्न देशको शासन बदल्न
हजारौं हजारले जीवन आहुति दिँदा
रगतको बलिदान दिंदा
लाग्दैछ म सहिद बन्न ठगिएछु
यहाँ यसरी नक्कली बनेर जनमानसमा भ्रम फैलाउन
ठूलो भूमिका खेलेछु ।।

अझै पनि रुँदैछन् सिन्दूर पुछिएकाहरु
हार गुहार गर्दैछन् बा–आमा गुमाएकाहरु 
अपाङ्ग भएर जिन्दगी बिताउनेहरु
क्षितिज पारि हरेर आवाज ननिकालेरै
आँसु खसालिरहेका छन् ।
घरबारबिहीन भएकाहरु आज 
विना मुस्कान हाँसिरहेका छन्
त्यो गणतन्त्रको उपहार सम्झेर ।।

देशको मुहार फेर्ने सपना बोकेका युवा 
व्यस्त छन् खाडीमा उँट र भेडाहरु चराउन 
त्यसैले म मेरो छोरालाई सम्झाउनेछु,
अब गणतन्त्रको उपहार सजाउन
अर्को प्रयास गर ।।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया