युवाकाे कुरा नसुन्ने 'अटेरी' सरकार : नेता पाैडेल

 साउन १८, २०७७ आइतबार १९:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुग्नुभएको छ ।

पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुग्नुभएको हो । क्वरेण्टीन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

सामान्य तर नागरिकका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुकाे कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताउनुभयो । अनसनरत युवाहरुका मागहरुप्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापर्वाही भएको पौडेलको भनाइ छ ।

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

अनसनरत युवाहरुलाई यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पनि भेटेका छन् । शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वरेण्टीनकाे अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरि अनसनमा छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया