मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नै भएको पुष्टि

 साउन १९, २०७७ सोमबार १५:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ ।

गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो । त्यसपछि पीआईकेएमले जुलाई ३१ को बिहान प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि दुवै जना नेपाली नागरिक रहेको पुष्टि भएको हो । दूतावासका अनुसार पीडित इस्लाम हुसेन नवलपरासीका र पीडक रामगोपाल मुराव कपिलवस्तुका स्थायी बासिन्दा हुन् । यस्तै मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अवैधानिक भएर बसेको दूतावासले जनाएको छ ।

भिडियोमा देखिए अनुसारको घटना गएको जुलाई ७ तारिख बिहान करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम ३ मलमा भएको हो । पीडित सुरक्षा गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

राम गोपाल आज आफैं प्रहरी समक्ष उपस्थित भएको र क्वालालम्पुरको वाङसाषतजुमा रहेको प्रहरीचौकीले यसबारे थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया