हाेटल तथा रेस्टुरेन्ट खुले पनि सौरहा सुनसान

 साउन १९, २०७७ सोमबार १९:२५:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – कोरोना कहरपछि लकडाउनका कारण बन्द भएको चितवनको सौरहाका होटल रेस्टुरेन्ट खुलेका छन् । गएको बिहीबारदेखि होटल, रेस्टुरेन्ट खोलिए पनि पर्यटक नआउँदा सौरहा सुनसान देखिन्छ । एकातिर कोरोना कहर र अर्कोतिर वर्षाको समय भएकोले पनि सौरहामा चहलपहल बढेको छैन । 

प्रत्येक वर्ष वर्षाको समयमा सौरहा नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने गरेको थियो । अहिले कोरोनाको कारण निकुञ्जसँगै मध्यवर्ती सामुदायिक वन पनि बन्द छन् । पर्यटकको मुख्य आकर्षण रहने निकुञ्ज र वन क्षेत्र खुल्न नसकेकोले सौरहा क्षेत्र सुनसान देखिएको हो । 

सौरहाका होटल तथा रेस्टुरेन्ट स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आए पनि आएका पर्यटकलाई घुमाउने क्षेत्र बन्द भएका कारण समस्या भइरहेको व्यवसायी बताउँछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणासहित झण्डै चार महिनापछि होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टरार्ईले लामो समयपछि होटल खुल्दा व्यवसायी थोरै आशावादी देखिए पनि आउने पर्यटकलाई देखाउने क्षेत्र निकुञ्ज र सामुदायिक वन बन्द भएकाले थप निराश बनाएको बताउनुभयो । विशेष गरी वन र वन्यजन्तुसँग रमाउनका लागि पर्यटक सौरहा आउने गर्छन् । 

​‘सौरहा क्षेत्र खुला भएपछि आन्तरिक पर्यटकको केही चहलपहल बढेको छ’, उहाँले भन्नुभयो, ‘सौरहा आउने पर्यटकको मुख्य आकर्षण निकुञ्ज र वन क्षेत्रमा प्रवेश खुला नभएकाले समस्यामा छौँ ।’ सौरहासँगै जोडिएको पर्यटकीय क्षेत्रलाई खुला गराउन सम्बन्धित निकायसँग समन्वय भइरहको अध्यक्ष भट्टरार्ईले बताउनुभयो ।  

सौरहा आउने पर्यटकको मुख्य आकर्षण हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चलाउने, जङ्गलमा पैदल यात्रा गर्ने रहन्छ । तर अहिले वन क्षेत्र बन्द भएका कारण यो सुविधा दिन सक्ने अवस्था छैन । स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायिक वनमा हात्ती चढाएर पर्यटकलाई डुलाइन्छ । निकुञ्ज खुला भएपछि मात्र पर्यटकका लागि वन क्षेत्र खुला गरिने तयारी छ । 

सरकारले जारी गरेको मापदण्डलाई पालना गरेर होटल रेस्टुरेन्ट खोलेको बताउँदै उहाँले होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्य रुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिनुभयो । होटलमा एक पटक प्रयोग गरेको कोठा ४८ घण्टासम्म प्रयोग नगर्ने मापदण्डसमेत बनाएको उहाँले बताउनुभयो । 

स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौरहा हेर्न आउने क्रम भने बढेको छ । पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउने वा सम्बन्धित निकायमा खबर गर्ने मापदण्ड बनेको अध्यक्ष भट्टरार्ईले बताउनुभयो । 

लकडाउन सुरु भएपछि सौरहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिएर होटल बन्द गरेका थिए । सौरहामा होटलमा प्रत्यक्ष रूपमा पाँच हजार बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । पहिलो चरणमा २५ प्रतिशत कर्मचारीलाई काममा फर्काएको अध्यक्ष भट्टरार्ईले जानकारी दिनुभयो । 

होटल सञ्चालनमा आएपछि व्यवसायीले छुट प्याकेज घोषणा गरेका हुन् । अवस्था सहज नहुने समयसम्मका लागि नेपाली पर्यटकलाई लक्षित गरी ३० प्रतिशत छुटसहितको प्याकेज तयार गरी लागू गरिएको अध्यक्ष भट्टरार्ईले बताउनुभएको छ । 

‘व्यवसायीले स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेको अवस्था छ, संस्थागत रुपमा आउने पर्यटकका लागि अझै छुट हुन सक्ने गरी प्याकेज घोषणा गर्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो । 

सौरहामा एक सय १० होटल सञ्चालनमा छन् भने एक यसको हाराहारीमा रेस्टुरेन्ट छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया