विश्वास टुट्न दिने छैन, कुनै कसर बाँकी राख्ने छैन : सदस्य सचिव सिलवाल

 साउन १९, २०७७ सोमबार २१:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई दिइएकाे जिम्मेवारीकाे विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल सङ्घले सिलवालकै सम्मानमा आयोजना गरेकाे स्वागत तथा बधाई कार्यक्रममा सदस्य सचिव सिलवालले भने, ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्त गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई फेरि जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य सचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।’

सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु भइसकेको बताए । उनले भलिबल सङ्घलाई पनि कभर्ड हल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सदस्य सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया