सेवाग्राहीको भिड बढेपछि लाइसेन्स वितरण कार्य स्थगित

 साउन २०, २०७७ मंगलबार २१:६:३५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् ।

सेवाग्राहीको अत्यधिक भिडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दुरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भिडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकाेमा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो ।

कार्यालयमा अत्यधिक भिडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भिड नियन्त्रण गर्न गाह्राे भएको एकान्तकुनामा रहेको कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनुभयो । काठमाण्डाै उपत्यकामा सङ्क्रमण बढिरहेकाले एकान्तकुनासँगै जगाती, सुकेधारा र ठूलो भर्‍याङ गरी चारवटै कार्यालयले सेवा बन्द गरेकाे उहाँले बताउनुभयो ।

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजस्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया