सडकमा जाम, गाडी रित्तै

 साउन २१, २०७७ बुधबार ७:१८:२६ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसकाे सङ्क्रमण राेकथाम गर्न भन्दै गरिएको लकडाउन खुलेसँगै सार्वजनिक गाडी पनि खुले । सरकार, यातायात व्यवसायी र मजदुरबीच लामो समयपछिको छलफलपछि मात्र गाडी चल्न थालेका हुन् ।

व्यवसायीले सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्ने, स्यानिटाइजर प्रयोग गर्ने, चालक र सहचालकलाई मास्क र पञ्जा लगाउन अनिवार्य गर्दै सडकमा गाडी निकालेका छन् । तर यात्रु नपाएपछि गाडी चलाउन थालेको एक हप्तापछि धेरै व्यवसायीले आफ्नो गाडी ग्यारेजमा थन्काउन थालेका छन् ।

लगनखेल –नयाँ बाटो भक्तपुर –कमलविनायक रुटमा बस चलाउने चालक सुशील श्रेष्ठ भन्नुहुन्छ, ‘चार महिनाको लकडाउनपछि बल्लतल्ल गाडी चलाउन पाउँदा उत्साहित थिएँ, तर यात्रुको सङ्ख्या देखेर निराश भए । एकदिन साहु पनि सँगै गाडीमा हिँडेका थिए, भोलिपल्टदेखि गाडी थन्काउन लगाए ।’

यसैगरी लगनखेल–सातदोबाटो–सुनाकोठी–चापागाउँको रुटमा चल्ने माइक्रोबस व्यवसायी ईश्वर महर्जन गुनासो पाेख्नुहुन्छ, ‘यसअघिका साउन महिनाका गाडीमा खचाखच यात्रु हुन्थे । विभिन्न जात्रा तथा चाडपर्व सुरु हुने महिना भएकाले यात्रुको आवतजावत धेरै हुन्थ्यो । तर यसपालि सिजनमै गाडी थन्क्याउनुपर्ने अवस्था आयो । आम्दानी शून्य छ ।’ पर्याप्त यात्रु नपाउँदा थुप्रै व्यवसायीले गाडी चलाउन छोडेका छन् । 

बाटोमा गाडी कुर्ने मानिस नै कम छन्

लकडाउन खुलेपछि सडकमा गाडीको चाप छ । सहर बजारमा पनि उत्तिकै चहलपहल देखिन्छ । तर यातायात व्यवसायी भने पर्याप्त यात्रु नपाएर हैरान छन् । दिनदिनै कोरोना सङ्क्रमण र मृत्युको खबरले धेरैजना सार्वजनिक गाडी चढ्न हच्किएका छन् ।

कतिपय निजी गाडीमा यात्रा गर्छन्, कतिले नजिकैको गन्तव्यमा हिँडेरै वारपार गर्ने गरेका छन् । कतिपय भने अति आवश्यक नपरि घर बाहिर ननिस्किएको पनि देखिन्छ । ललितपुर महानगरपालिका नख्खिपोट–रत्नपार्क रुटमा गाडी चलाउने चालक भीम मगर भन्नुहुन्छ ,‘हामीले खाली गाडी कुदाउन परिरहेको छ । दिनदिनै यसरी त कसरी गाडी चलाउनु ?’  

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएन

लकडाउनपछि सार्वजनिक गाडी चलाउँदा सिट क्षमताको आधामात्र यात्रु बोक्न पाउने र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने कुरामा सरकार र व्यवसायीबीच सहमति भएको थियो । तर गाडी चल्न थालेको ५/६ दिनपछि गाडी चड्दा गाडीमा बसका चालक र सहचालकसँगै यात्रुले पनि सुरक्षा सावधानीका उपाय अपनाएको पाइएन ।

इमाडोलकी रेवती खड्का भन्नुहुन्छ, ‘गाडी चढेर कार्यालय जान सुरक्षित लागेन । न यात्रु सजक छन् न यातायात मजदुर । लगाएको मास्क पनि चिउँडोमा छ ।’ बरु हिँडेरै जान उपयुक्त हुने उहाँको बुझाइ छ ।

बिग्रिएको गाडी बनेका छैनन्, यात्रा असुरक्षित  

लामो समयसम्म थन्क्याएर राखेका गाडी चलाउनुभन्दा अघि मर्मत सम्भार गरेर मात्र गुडाउनुपर्ने हुन्छ । चार महिनासम्म नचलेका गाडी चलाउँदा गाडीका विभिन्न पाटपुर्जाले कस्तो काम गर्छ भनेर जाँच गरेर मात्र फिल्डमा लानुपर्ने विज्ञहरु बताउँछन् । गाडीको टायर, ब्याट्री, इन्जिन आयललगायतको अवस्था जाँच गर्नुपर्छ । तर अहिले सडकमा गुड्न थालेका अधिकांश सार्वजनिक गाडीको अवस्थाबारे जाँच भएको छैन ।

काठमाण्डौ उपत्यकामा रहेका वर्कशपमा अहिलेसम्म फाट्टफुट्टबाहेक अरु गाडी मर्मतका लागि नआएकाे वर्कशप सञ्चालकहरु बताउँछन् । यसले गर्दा गाडी गुडाउने क्रममा जुनसुकै बेला समस्या आउन सक्ने र यात्रा पनि सुरक्षित नहुने ललितपुर तिखेदेबलमा रहेको गौरीशङ्कर अटो सर्भिसिङका सञ्चालक माधव अधिकारीले बताउनुभयो ।  

निजी यातायात कम्पनीका बसमा पनि छैनन् यात्रु

लकडाउन हुनुअघि बसपार्कमा गाडी कुर्नेको लर्को हुने गरेको थियो । गाडीको सङ्ख्या कम भएर ठेलमठेल गरेर गाडी चढ्नु परेको थियो । गाडीमा पनि गुन्द्रुकझैँ कोचिएर यात्रा गर्नुपरेको अनुभव धेरैसँग छ । तर पछिल्लो समय कोरोना महामारीका कारण लकडाउन भएपछि चार महिनासम्म गाडी चलेन ।

लकडाउन खुल्नुअघि नै केही निजी यातायात कम्पनीले सडकमा गाडी निकालेका थिए । कोरोना महामारीको बेला यात्रुको सुविधाका लागि भन्दै सुरक्षा सावधानीका साथ गाडी चलाएका निजी यातायात व्यवसायी पनि यात्रु नपाएर गाडीको सङ्ख्या घटाउने तयारीमा छन् ।

कोरोना जोखिमका कारण सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाइने सरकारले निर्णय गरे पनि सञ्चालन भइरहेका सार्वजनिक यातायातले आधा मात्र पनि यात्रु नपाएको यातायात व्यवसायी बताउँछन् । सुन्दर यातायात प्रालि, दिगो यातायात प्रालि, महानगर यातायातलगायतले गाडीको सङ्ख्या घटाउन लागेको व्यवसायीले बताएका छन् ।  

ट्याक्सी छ, चढ्ने मान्छे छैनन् 

सडकमा ओहोरदोहोर गर्दा ठाँउ–ठाँउमा ट्याक्सी पार्क गरिएको छ । पार्किङमै घण्टौँ कुर्दा पनि यात्रु आउँदैनन् । लकडाउनमा ट्याक्सी निकाल्न नपाएर छट्पटाइरहेका रामेछाप घर भइ पाटनढोका बस्ने ट्याक्सी चालक कुमार धिताल भन्नुहुन्छ, ‘अहिले यात्रु नपाएर हैरान । यात्रु कुर्नुबाहेक काम नै भएन ।’ उहाँँ भन्नुहुन्छ, ‘सधैँ यस्तै भइरहने हो भने कसरी बाँच्ने ?’ सुरक्षा सावधानीका सबै उपाय पालना गरे पनि धेरैजना ट्याक्सी चढ्न नमान्ने उहाँको गुनासो छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया