सुनसरीकाे इटहरी र इनरुवामा ५ दिने लकडाउन

 साउन २०, २०७७ मंगलबार १९:५९:१५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – सुनसरीको सदरमुकाम इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगरस्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा मङ्गलबार राति १२ बजे देखि लागू हुने गरी पाँच दिने लकडाउन गर्ने निर्णय गरेकाे हाे । इटहरीमा समुदायस्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरिएको इटहरी उपमहानगरले जनाएको छ ।

यस्तै इनरुवा नगरपालिकामा पनि पाँच दिने लकडाउन घोषणा गरिएको छ । गएकाे १८ गते इनरुवाका राजनीतिककर्मी, प्रहरी, पत्रकार र आशङ्का गरिएका व्यक्ति गरी ७५ जनाको स्वाब सङ्कलन गरिएकोमा एक जना मेडिकल सञ्चालकको काेराेना रिपोर्ट पोजेटिभ आएपछि सुनसरी सदरमुकाम इनरुवा लकडाउन गरिएको हो । इनरुवामा पनि साउन २६ गतेसम्मलाई लकडाउन हुनेछ ।

सुनसरीको दुहबी नगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ । दुहबीमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक जना नगरपालिकाका कर्मचारी पनि हुन् । नगर प्रमुख वेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड–१९ आपत्कालीन व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

दुहबीमा मङ्गलवार रातिदेखि  भदौ २ गतेसम्म लकडाउन लागू हुनेछ । यो निर्णय उल्लङ्घन गरेमा प्रतिपटक पाँच हजार जरिबाना गर्ने निर्णय पनि भएकाे छ । लकडाउन उल्लङ्घन गरे पाँच हजार रुपैयाँसम्म जरिबाना गरिने नगरपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया