पर्यटन मन्त्रीलाई प्रश्न : कोरोना सङ्क्रमित बढिरहेको बेला उडान खोल्न सकिएला ?

 साउन २१, २०७७ बुधबार ८:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेको छ । गएको चैत ९ गतेदेखि बन्द भएका जहाजको नियमित उडान भदौ १ गतदेखि सुरु हुनेछ ।

तर नेपाल सरकारले मात्रै निर्णय गरेर अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्दैन । किनकी अझै विश्वका एक सय १५ देशले विदेशी यात्रुलाई आफ्नो देशमा प्रतिबन्ध लगाएका छन्, ४ वटा देशले पूर्ण रुपमा देश खुला बनाएका छन् भने ८३ वटा देशले सर्तसहित खुला गरेका छन् ।

नेपालबाट उडान हुने १६ वटा देशमध्ये सात वटा देशले त पूरै प्रतिबन्ध लगाएका छन् । अर्कोतर्फ नियमित उडानमार्फत नेपाल आउनेहरु कतिदिन क्वरेण्टीन बस्ने, कस्ता देशमा उडान गर्ने, अनअराइभल भिसा के हुने लगायतका कयौं विषय टुंगिएका छ्रैनन् ।  

यस्तै नेपालमा फेरि कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै जाँदा उडान खुला गर्दा थप जोखिमको डर पनि बढेको छ । सरकारले फेरि लकडाउन लगाउनुपर्छ भनेर विज्ञले सल्लाह  दिएका छन् । यिनै विषयमा अर्जुन पोख्रेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई गरेको संक्षिप्त कुराकानी ।

भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्नुभएको छ, यात्रु ढुक्क हुने गरी पूर्वतयारी र सतर्कता अपनाइएको छ ?

हामीले कोरोनाको पछिल्लो अवस्थालाई हेरेरै भदौ १ गतेदेखि उडान खुलाउने निर्णय गरेका हौँ । यो निर्णय मन्त्रालयको नभई मन्त्रिपरिषद्ले गरेको हो । हामीले निर्णय गर्दा थपिने सङ्क्रमितको संख्या घटिरहे पनि पछिल्ला दिनमा सङ्क्रमितको संख्या बढिरहेको छ ।

कतिपय ठाउँमा त समुदायमै पुगेको शंका पनि गरिएको छ । त्यसैले हामीले निर्णय गर्दा बखतको भन्दा पनि धेरै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने देखिन्छ । 

नागरिक उड्डन प्राधिकरणले थप मापदण्ड ल्याउँछ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा र यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नै निर्देशिका बनाएको छ । त्यो निर्देशिकालाई वायुसेवा कम्पनी, यात्रु, विमानस्थल व्यवस्थापन, कर्मचारी लगायत सम्बन्धित सबैले कडाइका साथ पालना गर्नुपर्छ ।

तपाईंहरुले उडान खुला गर्ने निर्णय गर्दा भन्दा अहिले अवस्था फरक भइसक्यो, भदौ १ गतेदेखि जहाज उड्न दिने निर्णय पुनर्विचारको सम्भावना छ ?

हामीले हरेक दिनको घटनाक्रमलाई नजिकबाट अध्ययन गरिरहेका छौं, नियालिरहेका छौं । अरु देशको अभ्यास कस्तो छ भनेर पनि हेरिरहेका छौँ । त्यसै आधारमा नै हाम्रा निर्णयहरु हुन्छन् ।

अहिलेसम्मको अवस्था विश्लेषण गर्दा हामीले अन्तर्राष्ट्रिय र आन्तरिक उडानको मिति सार्ने बारेमा सोचेका छैनौं । तर सङ्क्रमितको अवस्था हेरेर उडानका नियम र निर्णयहरु परिवर्तन हुन पनि सक्छन् । पछिल्लो दिनमा सङ्क्रमण बढिरहेको अवस्थामा अझै बढी सुरक्षा सतर्कता अपनाउनुपर्नेछ । 

विदेशबाट नेपाल आउनेहरुले थप प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्छ ?

हामीले अहिले नै धेरै कडाइ गरेका छौँ । नियमित उडान हुने भएपछि थप कडाई हुन्छ नै । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने र त्यसमा पनि नेपालमा आउने यात्रुले हामीले बनाएका नियम पूर्ण रुपमा पालना गर्नैपर्छ । उनीहरुले आउने देशबाट पीसीआर विधिमार्फत कोरोनाको जाँच गर्ने र कोरोना सङ्क्रमण छैन भन्ने कुराको सुनिश्चितता हुनुपर्छ ।

वायुसेवा कम्पनीले पनि कोरोना सङ्क्रमण नभएको सुनिश्चित भएका यात्रु मात्रै बोक्नुपर्छ । विमानस्थलमा पनि सामाजिक दूरी कायम गर्ने, निसङ्क्रमण गर्ने, मास्क लगाउने, ज्वरो नाप्ने, चुस्त मेडिकल डेस्क लगायतको पनि कडाइका साथ पालना हुन्छ । 

भदौ १ गतेदेखि उडान गर्ने भने पनि अहिलेसम्म कुन कुन देशमा आउजाउ गर्न पाइने, भिसा खुलाउने कि नखुलाउने, क्वरेण्टीन अवधि कति हुने लगायतका कुरा त टुंग्याउनुभएको छैन नि ?

तपाईंले राखेका जिज्ञासाको विषयलाई टुंगो लगाउन हामीले गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छौँ । भिसाको कुरामा गृहले पनि अध्ययन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान गर्न इच्छुक विमान कम्पनीसँग कुरा गरिरहेको छ ।

अहिले हामीले त्रिभुवन विमानस्थलको कुल क्षमताको २५ प्रतिशत मात्रै उडान गर्ने तयारी गरेका छौँ । पहिले दैनिक एक सयदेखि एक सय १०  वटासम्म अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदै आएकोमा अब जम्मा २५ प्रतिशत मात्रै उडान हुनेछन् ।  त्यो पनि कोरोना सङ्क्रमणको हिसाबले धेरै सुरक्षित गन्तव्यमा मात्रै उडान हुनेछ । 

पर्यटन व्यवसायीहरुले नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमै पीसीआर विधिमार्फत कोरोनाको जाँच गर्न माग गरेका छन्, क्वरेण्टीन अवधि घटाउन भनेका छन्, यसबारेमा के हुन्छ ?

विमानस्थलमा पीसीआर जाँच गर्ने कुरा अहिले सामान्य छलफलमै सीमित छ । तत्काल अघि बढ्दैन । क्वरेण्टीन अवधिको विषयमा छलफल भइरहेको छ । स्वास्थ्य मन्त्रालय र विज्ञहरु छलफल गरेर हामीले निर्णय गर्छौं । यदी १४ दिन नै क्वरेण्टीनमा बस्नुपर्छ भन्ने राय आयो भने  त्यही नियम नै लागू हुन्छ ।

१४ दिन क्वरेण्टीन बस्ने नियम लगाउँदा पर्यटक कम आउलान भन्ने चिन्ता लिनु पर्दैन, अहिले स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहेकाले पर्यटकलाई मात्रै हेरेर नियम बनाउने कुरा आउँदैन । 

उडान खुलेपछि समस्यामा परेकाहरु त गन्तव्यमा जाने भइहाले नै । तर घुम्न निस्कनुपर्ला भन्नेहरु पनि छन् । उडानमार्फत घुम्न र रमाइलो गर्न निस्कनेहरुलाई रोक्ने कि नरोक्ने ?

अहिले हामीले घुमघाम गर्न, रमाइलो गर्न, मनग्य पर्यटक भित्राउने हिसाबले उडान खोल्न लागेको होइन । अति आवश्यक काम परेकाहरु, अलपत्र परेका लगायतलाई ध्यान दिएर खोल्न लागिएको हो । विदेशमा अलपत्र परेका नेपालीलाई हामीले उद्धार उडानमार्फत ल्याइरहेका छौँ, तर हवाइ भाडा महँगो छ, भनेको समयमा उडान भएका छैनन् ।

नेपाल फर्कन चाहेका नेपाली सजिलै फर्कन पाएका छैनन्, यस्तो अवस्था केही सहज होस् भनेर हामीले उडान खुलाउने निर्णय गरेका हौँ । अहिले मनग्य पर्यटक भित्राउने र घुम्न निस्कने बेला होइन । नियमित उडान गर्दा समस्यामा परेकाहरुलाई केही सहज हुने भएकोले मात्रै हामीले निर्णय गरेका हौं । 

तर मैले अघि नै तपाईंलाई भनिसकेँ, अवस्था हेरेर हामीले जुनसुकै बेला निर्णय र नियम परिवर्तन गर्न सक्छौं । 

अन्त्यमा, नेपाल कोरोनामुक्त देश भएकाले विदेशीलाई घुम्न बोलाउनुपर्ने तपाइँको भनाईको पहिले निकै आलोचना भयो । अहिले पनि सङ्क्रमित बढिरहेको बेला फेरि नियमित उडान सुरु गरेर जोखिम नित्म्याउन थालियो भनेर आलोचना हुन थालेको छ नि ?

यो म मात्रै जोडिने सवाल होइन, मलाई नियोजित रुपमा लगाइने आरोपको जवाफ छैन । त्यस्ता प्रश्न गर्नेहरुलाई जवाफ दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । यस्ता उत्तर दिएर म मानिसको मानसिकतालाई भड्काउन चाहन्न । तर हामीले नेपालमा कोरोना नआओस् भनेर जुन ढंगले सतर्कता अपनायौँ,  त्यसकै कारणले अहिले हामी नियन्त्रित अवस्थामा छौँ ।

जे कामको पनि विरोध गर्नेहरुले हाम्रा राम्रा कामलाई पनि नराम्रै देख्छन्, यसमा मेरो भन्नु केही छैन । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Aabhas Bhandari

    Aug. 5, 2020, 2:49 p.m.

    पैसा भन्दा पनि नागरिकको बारेमा सोच्नुपर्यो मंत्रीज्यू ...पछि फेरि त्यही नागरिकले चुनावमा लडाइदेलान नि ! #stayhome #staysafe

  •  0 Reply

तपाईको प्रतिक्रिया