गुजरातमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी : ८ जनाको ज्यान गयो

 साउन २२, २०७७ बिहिबार १०:४४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।

गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ ।  

आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् । उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।  विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ट्वीटरमार्फत आगलागीकाे घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । यसैबीच भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १९ लाख नाघेको छ ।

गएको २४ घण्टामा ५६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हिजोमात्रै ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे ४० हजार नाघेको छ । १३ लाख २८ हजार भने निको भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया