प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना सङ्क्रमण पुष्टि

 साउन २२, २०७७ बिहिबार १२:२०:४६ | केसी लामिछाने
unn.prixa.net

पर्सा -  प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

उहाँसहित प्रदेश सभासदस्य रिना यादवसमेत कोरोना सङ्क्रमित हुनुभएको छ । पीसीआर परीक्षण रिपोर्टमा आन्तरिक मामिला मन्त्रालय मन्त्री यादवसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्री यादव होम आइसोलेशनमा बस्नुभएको छ । मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ । मन्त्री ज्ञानेन्द्रकुमार यादवले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । 

उहाँ साउन १८ गते काठमाण्डौबाट फर्केर १९ गते स्वाब संकलन गराउनुभएको थियो । उहाँले आफूमा सङ्क्रमण पुष्टि भए पनि अवस्था गम्भीर नरहेको बताउनुभएको छ ।

मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गर्नुभएको थियो । 

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजयकुमार चौरसियालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर परीक्षण प्रयोगशालाले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार ५६ वर्षीय नेता चौरसियामा कोरोना भाइरसको सङक्रमण देखिएको हो । चौरसिया वीरगञ्ज-११ मा रहेको आफ्नै घरमा आइसाेलेशनमा बस्नु भएकाे छ ।

‘घरमा आइसोलेशनमा बसेको छु’ उहाँले भन्नु भयो ‘आवश्यक परे चिकित्सकको सल्लाहअनुसार अस्पताल पनि जानु पर्छ ।’ पार्टीभित्र महाधिवेशनका विषयमा छलफल चलेको बेला नेता चौरासिया केही दिन अगाडि काठमाण्डौ जानु भएको थियो । 

काठमाण्डौबाट फर्किएपछि उहाँमा ज्वरो र रुघाखोकी देखा परेको थियो । उहाँले मङ्गलबार आफ्नो स्वाब परीक्षणका लागि दिनु भएको थियो । बिहीबार बिहान थपिएका ४३ सङ्क्रमितमा नेता चौरसियाको समेत पोजेटिभ रिपोर्ट आएको हो । चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साउन महिनामा मात्र  पर्सामा ५ सय ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यही अवधिमा १४ जना कोरोना सङ्क्रमितको मृत्यु समेत भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया