गण्डकी प्रदेशमा जोर–बिजोर लागू नहुने

 साउन २२, २०७७ बिहिबार १६:६:४७ | रासस
unn.prixa.net

कास्की – कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीबारदेखि लागू भएको जोर–बिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।

सरकारले दुई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा दुई सयकाे सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोर–बिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा दुई सयको हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिनुभयो । 

निर्देशक शर्माका अनुसार अहिलेसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । तीमध्ये २४ हजार चार सय ७२ जनाको नेगेटिभ रिपोर्ट आएको छ । गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार तीन सय ६२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा तीन सय १५ को कोरोना परीक्षण भएको छ भने अहिलेसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

त्यसैगरी क्वरेण्टीनमा एक हजार ११ जना रहेका छन् भने आइसोलेशनमा दुई सय ११ जना छन् । प्रदेशमा अहिलेसम्म भारतबाट १२ हजार दुई सय ९१ र तेस्रो देशबाट पाँच हजार एक सय चार जना आएको तथ्याङ्क छ । प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिने जिल्लामा कास्कीमा एक, पर्वतमा एक, गोरखामा ६ र नवलपुरमा तीन सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक सङ्क्रमित पोखरा महानगरपालिका ४ का २२ वर्षीय पुरुष रहेका छन् ।

जनस्वास्थ्यको मापदण्डअनुसार दुई सय जनाभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ । मन्त्रालयका अनुसार दुई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि दुई सय जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोर–बिजोर लागू नहुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया