'सङ्क्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैन, राेग लाग्न नदिन बेलैमा ध्यान पुर्‍याऔँ'

 साउन २२, २०७७ बिहिबार १७:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा सङ्क्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।

दिनदिनै काेराेना सङ्क्रमितको सङ्ख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गर्नुभयो । गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उहाँले अपिल गर्नुभयो ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सङ्क्रमणको दर उच्च रहेकाले प्रदेश सरकार र पालिकालाई सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।

उपत्यकालगायत घनाबस्ती भएका क्षेत्रमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सकलगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । सङ्क्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्‍याउन उहाँले आग्रह गर्नुभयो । 

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया