ओली–प्रचण्डबीचको संवाद फेरि टुट्यो, आज पनि भेटवार्ता भएन

 साउन २२, २०७७ बिहिबार १९:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बिहीबार हुने भनिएको भेटवार्ता पनि स्थगित भएको छ । 

पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्मत्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता हुने भनेर बुधबार नै भनिएको थियो । बुधबारका लागि तय भएको भेटवार्ता बिहीबारको लागि सारिए पनि आज छलफल हुन नसकेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरुबीच शुक्रबार पनि भेटवार्ता हुने सम्भावना कम छ । 

यसैबीच बिहीबार अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भने भेटवार्ता भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुन नसकेको समयमा अध्यक्ष प्रचण्डकै आग्रहमा आफू खुमलटार पुगेको नेता नेम्वाङले बताउनुभयो । 

छलफलका क्रममा दुई अध्यक्षबीच तत्कालै कुरा मिल्ने विषयमा आफू विश्वस्त रहेको नेता नेम्वाङको भनाइ छ । छलफल सकारात्मक भएको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गरेर अघि बढ्नेतर्फ केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । 

बिहीबारको भेटमा अध्यक्ष प्रचण्डले नेम्वाङलाई ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ । 

गएको साउन १३ गतेको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद थप चुलिँदै गएको छ । १३ गतेपछि झण्डै एक हप्ताको संवादहीनता टुटेको भनिए पनि दुई अध्यक्षबीच फेरि छलफल हुन छाडेको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया