स्याङ्जा र नुवाकोटमा लकडाउन

 साउन २३, २०७७ शुक्रबार ९:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्याङ्जामा कोरोना सङक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन बढाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न र नगराउन भनिएको छ । 

सार्वजनिक ठाउँमा मास्क नलगाउने, दूरी कायम नगर्ने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका काम गरेको भेटिए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । यसअघि साउन १३ गतेको बैठकले स्याङ्जामा १० दिन लकडाउन गर्ने निर्णय गरेको थियो । 

नुवाकोटमा आवागमनमा कडाइ र सार्वजनिक सेवा प्रवाह कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आजदेखि जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका गाडी अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाइएको छ । 

अत्यावश्यक सेवा, अनुमतिप्राप्त गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालकाअनुसार होटल, लज तथा रेष्टुरेन्ट, धार्मिकस्थलमा सामूहिक भेला, मेला, जात्रा, पर्व तथा समारोहमा रोक लगाइएको छ ।     

आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक पालिकाका लागि हप्तामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय भएको छ । नुवाकोट र स्याङ्जासहित कोरोना सङ्क्रमण बढेका १४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । नुवाकोट, स्याङ्जा, पर्सा, बारा, बाँके, सर्लाही, सप्तरीमा जिल्लाभर तथा धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा सङ्क्रमण देखिएका ठाउँमा मात्र निषेधाज्ञा छ। 

धनुषाको जनकपुर उपमहानगर र  क्षिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका-५ र केदारस्युँ गाउँपालिका-६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन नगर्ने, तर सङ्क्रमण बढी देखिएका ठाउँमा लकडाउन गर्ने योजना बनाएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया