आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गरिने

 साउन २३, २०७७ शुक्रबार १८:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषले गरेको एक कार्यक्रममा मन्त्री भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले आर्थिक लेनदेनलाई प्रसय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटो–बाटोमा पसल राख्ने, पार्किङ जथाभाबी गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रसय दिनेलाई कारबाही गर्ने बताउनुभएको हो ।

उहाँले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेल गरी नर्क जाने काम नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँभित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु । कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रसय दिने काम तपाईँहरुबाट भएछ भने तपाईँहरुमाथि पनि म कारबाही गर्छु । मैले प्रस्ट ढङ्गले भनेको छु । किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो । त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेल भए भने त्यो नर्कको बाटो हुन्छ । यो स्वर्ग जाने बाटो हो । पशुपति भनेको ।’ 

उहाँले पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तीर्थालुलाई हिँड्न अप्ठ्याराे बनाउने, जथाभाबी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिँडेको र त्यस्ता कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभयो ।

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही मानिस र राजनीतिक व्यक्तिलगायतले विरोध गरिरहेको उहाँले बताउनुभयो । पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको भन्दै उहाँले पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपतिमाथि आस्था विश्वास राख्ने विश्वभरका करोडौँ मानिसहरुको भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया