'ओ' पोजिटिभको साटाे 'बी' पोजिटिभ समूहकाे रगत चढाएपछि सुत्केरीको ज्यान गयाे

 साउन २३, २०७७ शुक्रबार १८:१९:४१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महाेत्तरीमा एक सुत्केरीकाे ज्यान गएकाे छ । 'ओ' पोजिटिभ रगत चढाउनुपर्ने ठाँउमा 'बी' पोजिटिभ समूहकाे रगत चढाएपछि सुत्केरीको अस्पतालमा ज्यान गएको छ ।

सुत्केरी व्यथा लागेपछि बीहीबार जनकपुरकाे रामजानकी अस्पताल भर्ना भएकी महोत्तरी गौशाला ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएकाे हो । अस्पताल र रेडक्रस सोसाइटीको गम्भीर लापर्वाहीले गंगादेवीको ज्यान गएकाे परिवारजनले जनाएको छ ।

शल्यक्रियामार्फत छोरी जन्माएकी गंगादेवीको शरीरमा रगत अभाव हुँदा अस्पतालले महिलाको रगत नमुना लिएर परिवारजनलाई अस्पतालले रेडक्रस पठाएकाे थियाे । बी पोजिटिभ रगत चढिसकेको कारण त्यसले प्रतिक्रिया गरेको र सुत्केरीको अवस्था गम्भीर भएर राति ८ बजे ज्यान गएकाे मृतकका पति राजकिशोर महतोले बताउनुभयाे । 

रेडक्रसले दिएको दुई पोका रगत चढाएपछि मात्रै एक पोका बी पोजेटिभ भएको खुलासा भएको थियो । रेडक्रस र अस्पतालको चरम लापर्वाहीले श्रीमतीको मृत्यु भएको महताेले दुखेसो पोख्नुभएकाे छ । मृतकका परिवारजनले घटना मिलाउन प्रहरी प्रशासन र अस्पतालबाट दबाब आइरहेको जानकारी दिएका छन् ।

अस्पतालका सञ्चालक गणेश साहले अस्पतालको नभइ रेडक्रसको लापर्वाहीले सुत्केरीको मृत्यु भएको बताउनुभयाे । यसअघि पनि रामजानकी हस्पिटल प्रालीमा पटक–पटक अस्पतालको लापर्वाहीले धेरैकाे ज्यान गइसकेकाे छ ।  

प्रहरीले याे घटनामा रामजानकी अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरेको छ । दुई जना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया